विर्तामोड । गत कात्तिक महिनादेखि विर्तामोड नगरपालिकामा सौर्य सडक बत्ती बल्न शुरु गरेपछि अहिले रातको समयमा विर्तामोड झलल उज्यालो भएको छ ।
सरकारले विगतमा लोड सेडिङका कारण शहर अँध्यारो भएको भन्दै गत आर्थिक बर्षमा १ सय १७ नगरपालिकालाई एक अर्ब दुई करोड रुपैयाँ पठाएको थियो । त्यसमध्ये २१ वटा नगरपालिकाले सौर्य बत्ती जडानको प्रक्रिया अगाडि बढाउन नसकेपछि उनीहरुलाई दिएको रकम फ्रिज भएको थियो ।
तर गत आर्थिक बर्षको करीब अन्ततिर सौर्य सडक बत्ती जडानका लागि आएको बजेटलाई जोखिम मोलेरै भए पनि फ्रिज हुन नदिइ बत्ती जडानको काम अगाडि बढाएको विर्तामोड नगरपालिकाले जनाएको छ ।
गत आर्थिक बर्षमा काम थालेर केही महिना अघिदेखि सौर्य बत्तीले विर्तामोड उज्यालो भएको हो ।
उक्त नगरपालिकाले जम्मा ५ सय ३८ वटा खम्बामा सौर्य बत्ती जडान गरेको छ । जसका कारण विद्युत महसुलमा भारी बचत भएको नगरपालिकाका कार्यकारी अधिकृत खडगबहादुर कार्कीले बताए ।

उनले भने, ‘अहिले हामीले महिनाको ५० हजार भन्दा बढी रकम बचत गरिरहेका छौं । विद्युत प्राधिकरणबाट विजुली बाल्दा त्यति खर्च आउँथ्यो ।’
उक्त बत्तीको वारेन्टी पाँच बर्षको हुने भएको र जडान गर्ने कम्पनीबाट वारेन्टी अविधभरका लागि ५ प्रतिशत धरौटी राखिएको बताइएको छ । विर्तामोड नगरपालिकाका अनुसार सडकमा प्रशस्त धुलो उडेका कारण सौर्य बत्तीका प्यानल धुलाम्मे हुन थालेका छन् ।
जसका कारण पर्याप्त घाम उक्त प्यानलमा नपर्ने भएकाले बत्तीले दिनुपर्ने उज्यालो नदिन सक्छ । उक्त समस्या कसरी कसरी निराकरण गर्ने भन्ने विषयमा छलफल भइरहेको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले २० प्रतिशत नगरपालिका, १५ प्रतिशत नगरबासी तथा ६५ प्रतिशत मन्त्रालयको लगानीमा सौर्य बत्ती जडान गरेको हो ।