काँकरभिट्टा । नागरिक यातायात ट्राभल्स एण्ड टुर्स प्रालि ले सञ्चालनमा ल्याएका अत्याधुनिक सुविधायुक्तमा धरान तथा विराटनगरसम्मको यात्रा गर्न चाहनुहुन्छ भने घरमै बसेर ति बस कहाँ कहाँ छन् ? कुन समयमा कहाँ गुड्दैछन् भन्ने कुरा तपाईंको एन्ड्रोइड मोबाइल फोनबाट थाह पाउन सक्नुहुनेछ । त्यसका लागि मोबाइलको प्ले स्टोरमा गएर GPS Nepal डाउनलोड गरेर Public Transport मा जानसक्नु हुनेछ । त्यहाँ उक्त बसहरु कहिलेसम्ममा आफ्नो स्थानमा आइपुग्छन् थाह पाउन सक्नुहुनेछ ।

दैनिक काँकरभिट्टादेखि विराटनगर तथा धरानसम्म उक्त प्रालिका बसहरुले सेवा दिइरहेका छन् । ति बसहरुमा यात्रुको सुरक्षालाई ध्यानमा राखी सिसिटिभी क्यामेरा जडान गरिएको छ । फराकिला सिट तथा फोहोर फाल्नका लागि डस्टविनको समेत उक्त बसमा व्यवस्था गरिएको प्रालिका अध्यक्ष लक्ष्मी उप्रेतीले जानकारी दिए ।
नेपाल सरकारको नियम अनुसार आरक्षण सिटको समेत उक्त बसहरुमा व्यवस्था गरिएको छ । अशक्त तथा बृद्ध बृद्धाका लागि भनेर बसमा चड्नका लागि होचो सिँढीको व्यवस्था गरिएको प्रालिका संस्थापक श्रीप्रसाद मैनालीले बताए । यात्राका क्रममा यात्रुको ज्यान गए पाँच लाख रुपैयाँ र घाइतेका लागि तीन लाख रुपैयाँसम्मको विमा समेत गरिएको अर्का संस्थापक राजेन्द्र रिजालले बताए । उनले भने, ‘समयको मागसंगै हामीले सुविधायुक्त बस भित्र्याएका हौं ।’