गोल्धाप (झापा) । प्रायः नेपाली समाज तथा घर परिवारमा बुहारीलाई पढन पठाउनुपर्छ भन्ने प्रचलन कमै रहँदै आएको छ । तर झापाको गोल्धाप गाविसका बुहारीहरुलाई क्याम्पस पढन जानुपर्छ भनेर उनीहरुका पति तथा सासु ससुराले नै प्रोत्साहन दिने गरेका छन् । त्यहाँ कलेजले समेत बुहारीहरुलाई सहुलियतमा खोजी खोजी पढाउने गरेको छ । गोल्धापस्थित जनजागृति क्याम्पसले अहिलेसम्म त्यस्ता ५० जना भन्दा बुहारीहरुलाई स्नातक तहसम्म पढाइसकेको छ । ‘मेरो छोरा जब कक्षा ९ मा पुग्यो तब मलाई ग्लानी हुन थाल्यो अब उसलाई पढाउन सक्दिन भनेर,’ जलथल झापाकी होमा नेउपाने खरेलले भनिन्, ‘त्यसपछि म पनि उच्च शिक्षा पढन कलेज जान्छु भनेर जिद्धी गरें । पहिला त मान्नु भएन श्रीमान्ले फेल हुन्छु भनेर । तर मैले पास गरेर देखाउँछु भनेपछि सासु ससुराले पनि कलेज आएर पढने अनुमति दिनु भयो ।’
होमा भन्छिन् गोल्धाप कलेज पढ्न थालेपछि आफ्नो जीवन शैलीमा नै परिवर्तन आएको छ । उनले भनिन्, ‘विहान घरको काम समेत भ्याएर क्याम्पस आएँ । लगातार पढें । पास पनि हुँदै गएँ ।’
गोल्धाप गाविसका प्राय परिवारका कलेज जान योग्य बुहारीहरुलाई कलेज जान प्रेरणा दिन्छन् बुहारीहरुका सासु ससुराले । त्यसैले गोल्धापकी कविता खरेल मैनालीको पति तथा सासु ससुराको सहयोगमा क्याम्पस आएर पढन थालिन् । कविताले भनिन्, ‘प्लस टु सक्ने वितिक्कै विहे भयो । त्यसपछि बच्चा भएका कारण केही बर्ष पढने वातावरण बनेन । अहिले बच्चा पनि ठूलो भयो । त्यही भएर सासु ससुराले नै पढन पठाउनु भयो ।’
उनी लगायत उनका परिवार उनले पढाईमा गरेको मेहेनत देखेर खुशी भएको उनको भनाई छ । अन्य घरका बुहारीहरु क्याम्पसको पोषाक लगाएर क्याम्पस गएर पढेको देखेपछि गोल्धापकै रेणुका ढकाल उप्रेतीका सासु ससुरालाई पनि उनलाई क्याम्पस पठाउन राजी भए । रेणुका भन्छिन्, ‘मेरा सासु ससुराले देखाएको शिक्षाको बाटो अत्यन्तै सराहनीय छ । यसमा त कलेजका प्रमुख लगायत सम्पूर्ण शिक्षक शिक्षिकालाई मैले धन्यवाद दिनैपर्छ ।’
अहिले गाउँकै बुहारीहरुलाई यहाँका सासु ससुराले क्याम्पस अध्ययनका लागि पठाउने गरेका छन् । कसरी खुल्यो उनीहरुको चेत ? जनजागृति क्याम्पसमा आफ्नी बुहारी पढन पठाएका गोल्धापकै चन्द्र दहालले भने, ‘बुहारीहरु भनेका घरका लक्ष्मी हुन् । उनीहरु शिक्षित भए घर शिक्षित हुन्छ । घर शिक्षित भए गाउँ शिक्षित हुन्छ भन्ने हामीले बुझ्यौं ।’ विहे गरिसकेपछि व्यवहार बुझ्ने भएका कारण क्याम्पस पढन आएका गाउँका बुहारीहरु बढी मेहेनती हुने गरेको शिक्षिका विमला लुईंटेल ढकाल बताउँछिन् ।
सुरुमा बुहारीहरुलाई पढाउनु पर्छ क्याम्पस पठाइदिनुस भनेर अभिभावकलाई निकै अनुरोध गर्नुपरेको अनुभव सुनाउँछन् क्याम्पस प्रमुख हरि संग्रौला । उक्त क्याम्पसले आर्थिक स्थिति कमजोर भएका घरका बुहारीहरुलाई छात्रबृतिमा पढाउने गरेको क्याम्पस प्रमुख संग्रौलाले जानकारी दिए । गोल्धापबासी तथा क्याम्पस परिवारले गरेको बुहारी पढाउने अनुकरणीय काम सबै सिक्नुपर्ने तर्क गर्छिन् क्याम्पसकी अर्की बुहारी छात्रा रेणुका ढकाल उप्रेती । गाउँ घरतिर अझै पनि बुहारीप्रतिको दृष्टिकोण छोरीलाई हेर्ने भन्दा फरक रहेका कारण परिवार सुधारमा बुहारी शिक्षा अत्यन्तै आवश्यक रहेको गोल्धापका बुहारीहरुले महसुस गर्न थालेका छन् ।