शिवसताक्षी । शिवसताक्षी नगर उद्योग वाणिज्य संघ, झापाको नेतृत्वका लागि उमेद्वारी घोषणा गर्ने क्रम सुरु भएको छ ।
नेकपा एमालेका तर्फबाट उमेद्वार सार्वजनिक भएको एक दिन नबित्दै स्वतन्त्र व्यवसायीको तर्फबाट पनि उमेद्वारी घोषणा भएको हो ।
शिवसताक्षी नगरका उद्यमी व्यवसायीले वाणिज्य संघ गैह्र राजनीतिक संस्था भएकाले यसमा खुलेर राजनीति नगर्न आग्रह गरिरहेका वेला स्वतन्त्रतर्फबाट उमेद्वारी घोषणा भएको हो ।
स्थानीय व्यवसायीले झापाको दमक र कनकाई नगर उद्योग वाणिज्य संघको निर्वाचनको परिणामको उदाहरण देखाउँदै शिवसताक्षीमा पनि स्वतन्त्र समूहकै वर्चश्व हुनु पर्ने बताए ।
एक व्यवसायीले भने, ‘राजनीति गर्नका लागि सरकारले स्थानीय निकायको निर्वाचनको मिति तोकेको छ । त्यसैमा राजनीति गरौं । तर, वाणिज्य जस्तो व्यवसायीहरुको सामाजिक संस्थामा राजनीति नजोडौं ।’
विगत तीन दशकदेखि व्यवसाय गर्दै आएका दूधेका काफ्ले खाद्य भण्डारका प्रोप्राइटर यामनाथ काफ्लेले आफू स्वतन्त्र व्यवसायीको तर्फबाट शिवसताक्षी नगर उद्योग वाणिज्य संघको अध्यक्ष पदको दावेदार भएको बताए ।
उनले विवेचनासँग कुरा गर्दै भने, ‘वाणिज्य संघ पार्टीका नेता कार्यकर्ताको राजनीति गर्ने थलो नभएकाले त्यसको विपक्षमा मैले शुद्ध स्वतन्त्र व्यवसायीको तर्फबाट उमेद्वारी दिएको हुँ ।’
शिवसताक्षी नगरको दूधेमा सोमबार घोषणा गरिएको काफ्ले नेतृत्वको स्वतन्त्र व्यवसायी समूहबाट वरिष्ठ उपाध्यक्षमा नरेशकुमार मिश्र (शिवगञ्ज), वाणिज्य उपाध्यक्षमा जीवन गिरी (दूधे), उद्योग सचिवमा वेदकुमार थपलिया (माइधार) र कोषाध्यक्षमा कृष्ण खरेल (झिलझिले) को नाम प्रस्ताव गरिएको छ ।
त्यस्तै, महिला सदस्यमा ललिता सापकोटा, खनिमाया श्रेष्ठ र विनिता राई र खुला सदस्यहरुमा धनकुमार ढकाल, रविन न्यौपाने, सन्तोषकुमार शाह, जंगबहादुर राजवंशी, राकेश ताजपुरिया र सुमन संग्रौलाको नाम सार्वजनिक गरिएको छ ।
बाँकी रहेका पदका लागि एक/दुई दिनमै निर्णय गरिने अध्यक्ष पदका उमेद्वार काफ्लेले बताए ।