रूपन्देही । युवा संघ रुपन्देहीका तत्कालिन अध्यक्ष दुर्गा तिवारीको हत्यामा संलग्न रहेको अभियोगमा पक्राउ परेका अाठ जनालाई प्रहरीले आज भैरहवामा सार्वजनिक गरेको छ । रुपन्देहीको देवदह नगरपालिका–७ का तिवारीको गत पुस ४ गते हत्या भएको थियो ।
हत्यामा संलग्न भएको आरोपमा देवदह नगरपालिका– ६ का ३१ वर्षीय वसन्तबहादुर चापागाईं, तिलोत्तमा नगरपालिका–१५ बुद्धिसागर यादव, सोही ठाउँका राजेश यादव तिलोत्तमा– ८ का प्रयास भनिने खेमानन्द भट्टराई, बाबु भनिने तुलबहादुर सिंजाली, देवदह– ८ का सागर थापा, परासीका अगंद थारु र देवदहका ऋषिश्वर कुमाललाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय रुपन्देहीले आज सार्वजनिक गरेको हो ।
तिवारीे हत्यामा देवदह नगरपालिका ६ का २९ वर्षीय मनोज पुन भन्ने मनोज बुढामगर मुख्य योजनाकार रहेको प्रहरीको दावी छ । तर उनीसहित अन्य मुख्य योजनाकार भनिएकाहरु भने फरार छन् ।
उनीसहित उक्त घटनाका योजनाकारहरु भनिएका सिद्धार्थ नगरपालिका १३ का विकास भन्ने सोमबहादुर आले, बारा गढीमाई नगरपालिका– १ का श्याम गुरुङ्ग, सुटर विस्तृत ठेगाना नखुलेका राजु, हातहतियार तथा गोली दिने देवदह ३ का २७ बर्षीय तुल बहादुर सिँजाली फरार छन् ।
प्रहरीले हत्यामा प्रयोग गरिएको लु २८ प २११९, लु २५ प ८४४१ र बा ५१ प ८०७३ नम्वारको मोटरसाइकल र पेस्तोल समेत बरामद गरेको छ । फरारहरुलाई छिट्टै पक्राउ गरी सार्वजनिक गरिने रुपन्देही प्रहरी प्रमुख एवं प्रहरी उपरिक्षक रविन्द्र बहादुर धानुकले बताउनुभयो ।