काठमाडौँ । तीन दिनदेखि देशका सबै स्थानीय निकाय ठप्प भएपछि सेवाग्राही सेवा पाउनबाट बञ्चित हुनु परेको छ ।
सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय र स्थानीय निकायका प्रतिनिधिबीच आज वार्ता गरी निष्कर्ष निकाल्ने भने पनि वार्ता नभएपछि सेवाग्राही सेवा पाउनबाट बञ्चित हुनुपरेको हो ।
सरकारले स्थानीय निकायका कर्मचारीलाई निजामती र अन्य निकायमा काम गर्ने कर्मचारी सरह समान पदको लागि समान अवसर प्रदान गर्नुपर्ने र लामो समयदेखि कार्यरत अस्थायी, करार र ज्यालादारी कामदारलाई सेवामा निरन्तरताको अवसर दिनुपर्ने स्थानीय निकायको माग रहेको छ ।
स्थानीय निकाय कर्मचारी सङ्घ नेपाल, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, नेपाल नगरपालिका कर्मचारी एसोसिएन, स्थानीय निकाय कर्मचारी युनियन र गाविस कर्मचारी सङ्घले संयुक्त रुपमा आफ्नो माग राख्दै हड्ताल गरिरहेका हुन् । स्थानीय निकायबाट काम ठप्प भएपछि आज पनि सेवाग्राही मर्कामा परेका छन् ।
बिहीबार एक घन्टा र शुक्रबार १० देखि १ बजेसम्म काम छोडेर हड्तालमा उत्रिएका कर्मचारीले आइतबार देशभरका पूरै स्थानीय निकाय ठप्प पारेका थिए ।
मंगलबार तेस्रो दिन पनि स्थानीय निकायबाट हुने कुनै किसिमको काम हुन नसकेको स्थानीय निकाय कर्मचारी सङगठन प्रदेश नं ४ का अध्यक्ष गोपाल पोखरेलले जानकारी दिए ।