भद्रपुर । आफ्ना माग पूरा नभएको भन्दै स्थानीय निकायमा कार्यरत कर्मचारीले सोमबार आ–आफ्नो कार्यालयका काम बन्द गरी कार्यालय अगाडि धर्नामा बसेका छन् । जिविस झापा अगाडि धर्नामा बसेका कर्मचारीले स्थानीय विकास अधिकारी खेमराज ओझालाई कार्यालयभित्र पस्न दिएनन् । कार्यालय बिहान १० बजेदेखि बन्द भएको छ । एलडिओ लगायत नगरपालिकाका कार्यकारी अधिकृतहरुले समेत कार्यालय प्रवेश गर्न पाएनन् ।
स्थानीय निकाय ट्रेड युनियन केन्द्रीय समन्वय समितिको मागलाई सरकारले बेवास्ता गरेका कारण बन्दको कार्यक्रम भएको र यसबाट सेवाग्राही मर्माहत भएका छन् । जिविसमा हुने सबै काम बन्द भएपछि सेवाग्राही रित्तै फर्किरहेका छन् भने गाविस र नगरपालिकाबाट हुने दैनिकी कार्य विवाह दर्ता, जन्म दर्ता, सिफारिसजस्ता सबै अवरोध भएका छन् ।
स्थानीय निकायका कर्मचारीले स्थानीय निकाय पुनः संरचना आयोगले तयार गरेको नयाँ स्थानीय तहमा रहने जनशक्ति खटाउने विषयमा सरकारले हाल कार्यरत रहेका विभिन्न तहमा नियुक्त स्थानीय निकायका कर्मचारीलाई हटाउने प्रकृतिको नीति ल्याउन लागेको भन्दै आफूहरु आन्दोलनमा उत्रेको विर्तामोड नगरपालिकाका प्रशासन प्रमुख मेघराज बाँस्तोलाले बताए ।
लोक सेवा आयोगबाट पास भएका कर्मचारीलाई स्थानीय तह जिम्मा दिने कुराले हाल स्थानीय निकायमा कार्यरत कर्मचारी चिढिएका छन् । बाँस्तोलाले भने, ‘लोक सेवा पास गरेकाहरु आफ्नो क्षेत्रमा विज्ञ होलान् । तर स्थानीय तह चलाउन हामी सक्षम छौं ।’
उनले स्थानीय तह चलाउन लोक सेवा आयोग पास गरेकाहरु नचाहिने बताए ।