काँकरभिट्टा । आठौँ राष्ट्रिय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगतामा भाग लिन पूर्वाञ्चलबाट प्रतिनिधित्व गर्ने खेल टोलीलाई सोमबार झापाको काँकरभिट्टाबाट विदाइ गरिएको छ ।
क्षेत्रीय प्रतियोगिताको सहआयोजक झापा खेलकुद विकास समितिले काँकरभिट्टा उमाविको खेल मैदानमा आयोजना गरेको विदाइ तथा शुभकामना आदानप्रदान कार्यक्रमका बीच खेल टोलीलाई बधाईसहित शुभकामना दिएर विदाइ गरिएको करातेका प्रशिक्षक मदनकुमार भण्डारीले जानकारी दिए ।
काँकरभिट्टामा आइतबार सम्पन्न आठौँ पूर्वाञ्चल क्षेत्रीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताका विभिन्न ६ वटा खेल विधामा विजयी हासिल गर्ने ८६ जना खेलाडीसहित १ सय २ जनाको खेल टोलीलाई झापा खेलकुद विकास समितिका अध्यक्ष शङ्कर थापा, कार्यालय प्रमुख टहलदास मैनाली, वरिष्ठ कराते प्रशिक्षक मदन उप्रेती, वरिष्ठ तेक्वान्दो प्रशिक्षक टार्जन सुब्बा, नेपाल भलिबल संघका केन्द्रीय सदस्य लेखनाथ पराजुली, करातेका अन्तर्राष्ट्रिय रेफ्री राजु महर्जन, अनेरास्ववियुका केन्द्रीय सदस्य मिलन राई, नेपाल राष्ट्रिय वाणिज्य संघका जिल्ला सदस्य बालकृष्ण थापालगायतले खादा तथा अविर लगाएर विदाइ गरेका थिए ।
राजधानीमा यहि जेठ १९ गतेदेखि सुरु हुने आठौँ राष्ट्रिय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगतामा भाग लिन पूर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख टेकप्रसाद कट्टेलको नेतृत्वमा काठमाडौँ प्रस्थान गरेको खेल टोलीमा टिम कोचहरु करातेका गोपाल राई, तेक्वान्दोका कृष्ण राई, एथ्लेटिक्सका गोपाल यादव, भलिबलका हेमा थापा, कबड्डीका रतिया राजवंशी, उसुका विनोद मारिक लगायतको सहभागिता रहेको छ ।
सो कार्यक्रममा झापाको धाइजनमा सम्पन्न मोफसलकै सर्वाधिक पुरस्कार राशिको तेस्रो राष्ट्रिय लिग भलिबल प्रतियोगितामा प्रथम पुरस्कार सौजन्य गर्ने समाजसेवी नरेन्द्र मेचेलाई सम्मान गरिएको थियो । उक्त सम्मान पत्र बिहानी बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष दिेपेश राईले ग्रहण गरेका थिए ।
त्यस्तै, प्रतियोगिताको आयोजक विहानी बचत तथा ऋण सहकारी संस्थालाई समेत सम्मान गरिएको थियो । उक्त सम्मानपत्र संस्थाका सचिव सुरेश बुढाथोकीले ग्रहण गरेका थिए ।