विर्तामोड । तीस बर्ष भन्दा बढी समयदेखि उनी खाली खुट्टा हिँडिरहेका छन् । उनको घर झापाको धुलाबारी हो । जतिबेलादेखि उनी एउटा मिसन बोकेर हिँडे, त्यसबेलादेखि न उनले दारी काटेका छन्, न खुट्टामा जुत्ता चप्पल नै । उनी यसरी हिँडेको तीन दशक भन्दा बढी भइसक्यो । उनको त्यसै खाली खुट्टा हिँडेका छैनन् । उनको यो हिँडाईमा एक प्रकारको ‘मिसन’ छ । त्यो हो पुस्तकालय निर्माण ।
धुलाबारी झापाका प्रेमप्रकाश पोखरेल ‘फलाहारी’ अहिले ६७ बर्षका भए । उनी अहिले पनि पुस्तकालय निर्माणका लागि खाली खुट्टा हिँडिरहेका छन् । पुस्तकालय निर्माणका लागि हिँडेको दस बर्षपछि २०५३ साल बैसाख १ गते उनकै सक्रियतामा धुलाबारीमा त्रिफला राष्ट्रिय पुस्तकालय स्थापना भयो । अहिले उक्त पुस्तकालय आफ्नै भवनमा रहेको छ । जहाँ ४० हजार पुस्तक छन् ।
उनको उपनाम हो फलाहारी हो । कारण उनी फलफूल मात्र खान्छन् । उनले फलफूल मात्र खाएकै कारण शरीरमा उर्जामा कायम रहेको बताउँने गरेका छन् । उनको यो सदाचारी आफूमा मात्र सीमित राखेनन् । उनी उनकै सक्रियतामा झापाको धुलाबारीमा स्थापना भएको ‘त्रिफला राष्ट्रिय पुस्तकालय’मा योग समेत सिकाउने गरेका छन् । उनी भन्छन्, ‘म जतिसक्छु खाली खुट्टा हिँडछु । तर मेरो हिँडाई केवल पुस्तकालयको प्रवद्र्धनका लागि हुनेछ ।’ 
२०५३ बैसाख १ गते धुलाबारीको एउटा सानो कोठामा उनकै सक्रियतामा एउटा पुस्तकालय स्थापना भयो ‘त्रिफला राष्ट्रिय पुस्तकालय’। जुन पुस्तकालयमा अहिले ४० हजार पुस्तक छन् । उक्त पुस्तकालयमा हरेक किसिमका पुस्तकहरु संकलन गरेर राखिएको छ । जहाँ धार्मिक, साहित्यिक तथा विज्ञानका समेत पुस्तकहरु पढन पाइन्छ । पुस्तकालय स्थापना भएदेखि त्रिफला राष्ट्रिय पुस्तकालयमा नेपालबाट प्रकाशित हुने ठूला अखबारहरुका अंकहरु समेत संकलन गरेर राखिएका छन् । उनले पत्रिकाहरु देखाउँदै भने, ‘हामीले महिना तथा बर्षसमेत छुट्याएर राखेका छौं । पछि कसैलाई सन्दर्भ सामाग्रीका लागि चाहियो भने काम लाग्छ ।’
तर पुस्तकालय स्थापना गर्ने उनले अघि सारेको काम सहज थिएन । तर निरन्तर संघर्ष गरिरहे । जसका कारण अहिले उक्त पुस्तकालय अध्ययन गर्नेहरुका लागि अध्ययन केन्द्र बनेको छ । उनलाई साथ दिनेहरु पनि निस्किए । उनले दाताहरुको अगाडि झोला थापे । ‘मलाई अनेक थरी भन्नेहरु पनि निस्के तर हारिन । दुईपटकसम्म मेची महाकाली यात्रामा निस्कें । धेरै शुभचिन्तकहरुले पुस्तकहरु दिए । अनि सोच बनाएँ अब एउटा पुस्तकालय बनाउनुपर्छ भन्ने ।’
अहिले उक्त पुस्तकालय आफ्नै भवनको दुईवटा तलामा राखिएको छ । बाँकी निर्माणका काम पनि भइरहेको छ । पुस्तकालय निर्माणका लागि सहयोग गर्ने दाताहरुको सालिक बनाएर पुस्तकालय भवन परिसरमा राखिएको छ । उनी भन्छन्, ‘अहिलेसम्म दाताहरुको सहयोगमा यो पुस्तकालय यहाँसम्म आइपुगेको छ ।’
उनलाई साथ दिनेहरुमा प्रा. डा. गोविन्दराज भट्टराई पनि निस्केका छन् । प्रेमप्रकाश फलाहारीको पुस्तकालय स्थापनामा अतुलनीय योगदान रहेको उनले बताएका छन् । भट्टराईले भने, ‘यस्तो मान्छे प्रत्येक जिल्लामा एकजना भइदिए साँच्चै नेपाल समृद्ध हुन्थ्यो भन्ने लाग्छ । म पनि उहाँको लगनशीलता देखेर प्रभावित भएको हुँ ।’ फलाहारीका अर्का सहयात्री हुन् धुलाबारीकै नसूह प्रसाईंले उनी जस्तै अन्य मानिसको समाजमा खाँचो रहेको औंल्याए । शनिवार विद्यार्थी, शिक्षक तथा कुनै कार्यालयमा काम गर्नेहरुलाई अध्ययन गर्न सहज हुन्छ भनेर उक्त पुस्तकालय मंगलबार विदा दिने गरिएको छ ।