मेचीनगर । झापाको काँकरभिट्टामा आयोजित आठौँ पूर्वाञ्चल क्षेत्रीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा झापा जिल्ला प्रथम भएको छ ।
झापाको काँकरभिट्टाको विभिन्न स्थानमा शनिबार र आइतबार सम्पन्न खेलहरुबाट झापा जिल्लाले २२० अङ्क ल्याएर आठौँ पूर्वाञ्चल क्षेत्रीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा प्रथम भएको हो । त्यस्तै, १९३ अङ्क ल्याएर मोरङ जिल्ला दोस्रो तथा ८८ अङ्क ल्याएर उदयपुर तेस्रो भएको छ ।
प्रथम हुने झापाले नगद २० हजार, दोस्रो हुने मोरङले नगद १५ हजार र तेस्रो हुने उदयपुरले नगद १० हजार पाए । प्रतियोगितामा एथलेटिक्स, भलिबल, कराते, उसु, तेक्वान्दो, कबड्डीका छात्रछात्राका खेल भएका थिए । यस प्रतियोगिताबाट १०२ जना खेलाडी राष्ट्रिय प्रतियोगिताका लागि छनोट भएका छन् ।
पूर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको आयोजना तथा झापा जिल्ला खेलकुद विकास समितिको संयोजनमा भएको प्रतियोगिताका विजेता तथा उपविजेता टोलीलाई सांसद रविन कोइराला, झापाका प्रमुख जिल्ला अधिकारी मदन भुजेल, क्षेत्रीय खेलकुद विकास समितका अध्यक्ष रविन नगरकोटी, झापाका अध्यक्ष शङ्कर थापा लगायतले नगद तथा शील्ड प्रदान गरेका थिए ।
Facebook Comments Box