भद्रपुर । शिक्षा मन्त्री गिरीराजमणि पोखरेलले संस्थागत विद्यालय शूल्क निर्देशिका २०७२ लागु गर्नैपर्ने बताएका छन् । झापालाई साक्षर जिल्ला घोषणा गर्न आइतबार झापा आइपुगेका मन्त्री पोखरेलले भद्रपुर विमानस्थलमा खबरमञ्चसंग कुरा गर्दै शिक्षामा शूल्क बढनु बजार भाउ बढेजस्तो नभएको बताए ।
उनले अनुगमनको जिम्मा पाएका कतिपय जिल्ला शिक्षा कार्यालयहरुले सही अनुगमन नगरिदिएका कारण निजी विद्यालयहरुले निर्देशिकाको विरोध गरेको बताए । उनले अनुगमन नभएका जिल्लाका जिल्ला शिक्षा अधिकारीहरुलाई यस विषयमा सोध्ने समेत बताए ।
शिक्षामन्त्री पोखरेलले भूकम्पले भत्काएका विद्यालयका बारेमा सरकारले सोच्ने बताए । तर त्यही नारा दिएर निर्देशिकाकै विरोध गर्नु उचित नभएको उनको भनाई छ । मन्त्री पोखरेलले शूल्क निर्धारणमा शिक्षक, अभिभावक तथा विद्यार्थीको अनिवार्य सहमति हुनुपर्ने जिकिर गरे । उनले भने, ‘सबै सरोकारवालाको सहमतिमा निर्दशिका बनेको छ । त्यसको कार्यान्वयन नगरी धर छैन ।’
उनले नयाँ संविधान अनुरुप शिक्षा मौलिक हकका रुपमा स्थापित भएका कारण सोही अनुरुप ऐन कानुन बनाउनमा मन्त्रालय लागिपरेको समेत बताए ।