
लमजुङ । सुन्दरबजारस्थित कृषि र पशु विज्ञान अध्ययन संस्थान लमजुङ क्याम्पसका विद्यार्थीबीच होल्टेलभित्रै झगडा भएको छ ।
क्याम्पसमा अध्ययनरत नेपाल विद्यार्थी संघ (नेविसंघ) र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) समर्थित विद्यार्थीबीच झगडा भएको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानको क्रममा क्याम्पसभित्रै मदिरा सेवन गरेको र उनीहरुबीच आशन्न स्ववियु चुनावको विषयमा झगडा भएको प्रहरीले जनाएको छ । सोमबार राती ९ बजेको समयमा क्याम्पसको होस्टेलभित्रै झगडा भएपछि क्याम्पस प्रशासन र त्यसपछि स्थानीय प्रहरीले विद्यार्थीलाई सम्झाइबुझाई गरेका थिए ।
पछि बाहिर भाडामा बसेका विद्यार्थीले क्याम्पसभित्र प्रवेश गरेर विद्यार्थीमाथि आक्रमण गरेको डीएसपी समीरचन्द्र खरेलले बताए । क्याम्पसको मूल गेट बन्द गरिएकोमा गेटबाहिरका विद्यार्थीले वरपरका घरहरुमा ढुंगामुढा प्रहार गर्दै क्याम्पसको गेट तोड्नुका साथै पछाडिबाट भित्र छिरेर होस्टेलका विद्यार्थी र होस्टेलमा आक्रमण गरेको भेटिएको उनले बताए । ‘समयमा प्रहरी पुगेकाले धनजनको ठूलै क्षति हुनबाट जोगियो’ उनले भने ।
सदरमुकाम बेंसीसहरबाट प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसी, डीएसपी खरेलसहितको टोली राती घटनास्थल पुगेको थियो । प्रहरीले राती १ बजेतिर घटनामा संलग्न ४० देखि ५० जनालाई पहिलो चरणमा नियन्त्रणमा लिएको थियो । पछि ‘स्क्रिनिङ’ गरी १० जनालाई जिल्ला प्रहरी कार्यालय ल्याएको डीएसपी खरेलले बताए । उनका अनुसार बीएससी एजी सातौं सत्रान्तका विद्यार्थी महेन्द्रसिंह धामी घाइते भएका छन् । स्रोतका अनुसार प्रहरीले पक्राउ गरी ल्याएकामा धेरै नेविसंघ समर्थित विद्यार्थी छन् । घाइते विद्यार्थी भने अनेरास्ववियु समर्थित विद्यार्थी रहेको एक विद्यार्थीले बताए । उनको सुन्दरबजारस्थित कर्मदा अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीका अनुसार क्याम्पस बाहिरबाट भित्र पसेका विद्यार्थीको साथबाट खुकुरी, रड, लाठी लगायतको सामग्री बरामद भएको छ । यस्तै, होस्टेलको कोठाबाट बियर, भोड्काका बोत्तल लगायत नशालु पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ । बाहिरका विद्यार्थीको आक्रमणबाट होस्टेलमा बस्ने विद्यार्थीका ल्यापटपहरु तोडफोड भएको प्रहरीले जनाएको छ । विद्यार्थीले ८ वटा ल्यापटप बाहिरका विद्यार्थीले फुटाएको बताएका छन् । यस्तै, क्याम्पस बाहिर केही घरका सिसा झ्यालहरु र क्याम्पसभित्र होस्टेलका झ्यालढोका, दराजहरु तोडफोड भएको प्रहरीले बताएको छ ।
क्याम्पस प्रमुख लालप्रसाद अंगाइँले विद्यार्थीबीचको झगडाले क्याम्पसको भौतिक संरचनामा क्षति पुगेको बताए । उनका अनुसार सोमबारमात्रै बीएससीएजी सातौं सत्रान्तका विद्यार्थीको सैद्धान्तिक परीक्षा सकिएको थियो । उनले क्याम्पसभित्र धुमपान, मदिरापानमा प्रतिबन्ध लगाए पनि विद्यार्थीले लुकीछिपी ल्याएर खाने गरेको र झगडाको कारण पनि त्यही देखिएको बताए । ‘यद्यपि विद्यार्थीबीच कुन ठूलो संगठन, को ठूलो भन्ने प्रतिस्पर्धा छ । झगडा हुनुका कारण त्यो पनि हो’ उनले भने । उनले विद्यार्थीको परीक्षा चलिरहेकाले विद्यार्थीबीचको झगडाले थप समस्या ल्याएको बताए । घटनाबारे क्याम्पस प्रशासनले छानविन गर्ने उनले बताए ।
(कान्तिपुरबाट)