चितवन । वन तथा भू–संरक्षणमन्त्री शङ्कर भण्डारीले चितवनका लागि कोसी टप्पु वन्यजन्तु आरक्षबाट ल्याइएको अर्ना संरक्षण र पर्यटन विकासका लागि कोशेढुङ्गा सावित हुने विस्वास व्यक्त गरेका छन् ।
चितवनको रत्ननगर स्थित सौराहामा अर्नालाई स्वागत गर्न शुक्रबार आयोजना गरिएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले चितवनको एउटा परिवारको अङ्गका रुपमा अर्ना ल्याएकोसमेत उल्लेख गरे । यसको संरक्षणका लागि सबै एकजुट हुनसमेत उनले आग्रह गरे । सौराहामा अर्ना पुनःस्थापना कार्यक्रमको उद्घाटन गर्दै मन्त्री भण्डारीले चितवन ल्याइएको ‘अर्ना हामी सबैको सम्पती हो’ भने । मन्त्री भण्डारीले हाल २० वटा अर्ना यहाँ ल्याउने स्वीकृत रहेको जनाउँदै अगामी दिनमा यसको सङ्ख्या बढ्दै जाने विश्वास व्यक्त गरे ।
कोसीमा दुई दिन लगाएर समाइएको एक जोडी अर्नालाई उनले रिवन काटेर ट्रकमा राखेर निकुञ्ज प्रवेश गराए । निकुञ्जको पुरानो पदमपुर क्षेत्रमा राति ७ः४५ बजे अर्नालाई खुला खोरमा लगेर छाडिएको छ ।
उनले कृष्णसार र बाह्रसिंगेलाई समेत चितवनमा ल्याउने तयारी गरिएको जानकारी गराए । कोसीबाट ल्याइएको अर्नालाई सौराहामा स्थानीयले बाजागाजासहित भव्य स्वागत गरेका थिए । थारु समुदायले आफ्नै पोसाकमा सजिएर अर्नालाई स्वागत गरेका थिए ।