भद्रपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरी कार्यालयले जिल्ला विकास समिति झापाले विरिङ खोलामा लगाएको ठेक्का र खोलामा भइरहेको दोहनको छानविन गर्ने भएको छ । अख्तियारका इटहरी कार्यालयका प्रमुख प्रेमप्रसाद भट्टराईले विरिङ खोलाको ठेक्कामा अनियमितता भएको धेरै उजुरी परेको भन्दै छानविन गर्ने बताए ।
उनले भने, ‘हामीकहाँ धेरै उजुरी आइसकेको छ । यसलाई छानविन गर्छौं ।’
झापाका प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्रीले जनताको भावना अनुरुप काम गर्न झापाका कार्यालय प्रमुखहरुलाई निर्देशन दिएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरी कार्यालयले बुधबार भद्रपुरमा आयोजना गरेको भ्रष्टाचार नियन्त्रणमा अख्तियारको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा उनले सेवाग्राहीबाट सरकारी कार्यालयहरुको काम बारे चित्त नबुझाएको गुनासा आइरहेको भन्दै भ्रष्टाचार हुनै नदिने तरिकाले काम गर्न निर्देशन दिए ।
उनले भने, ‘भ्रष्टाचार गरेको पैसाले कसैलाई राम्रो गर्दैन । तपाईंहरु सजग हुनुहोस् ।’
अख्तियारले पेश गरेको प्रतिवेदनमा पूर्वमा सबभन्दा बढी भ्रष्टाचार शिक्षामा हुने गरेको उल्लेख गरिएको छ । स्थानीय निकायमा समेत भ्रष्टाचार डरलाग्दो रुपमा भइरहेको पनि उक्त प्रतिवेदनमा भनिएको छ ।