विर्तामोड । बर्षेनी हराएका महिलाहरुको संख्या बढेको बढ्यै छ । प्रहरी तथा महिलाको क्षेत्रमा काम गर्ने संस्थाहरुको तथ्यांक अनुसार त्यस्ता हराएका महिलाहरुको संख्या बर्षेनी बढ्ने क्रममा रहेको पाइएको छ ।
माइती नेपालका अनुसार सन् २०१६ मा पूर्वबाट हराउने महिलाको संख्या १ सय ५४ रहेको छ । तर उक्त संख्यामा हराएका महिलाहरुले खोजी गरिदिन भनेर माइती नेपाललाई आग्रह गरेको संख्या मात्र हो । हराएका तर उजुरी नगरेको संख्या पनि उल्लेख्य रहन सक्ने माइती नेपालका क्षेत्रीय कार्यक्रम अधिकृत गोविन्द घिमिरेले बताए ।
पहिला नेपालका महिलाहरुलाई भारत लगेर विभिन्न ठाउँमा लगेर बेच्ने परिपाटी रहँदै आएकोमा अहिले काँकरभिट्टा नाका हुँदै भारत लगेर खाडी तथा अन्य मुलुकहरुमा बेच्ने परिपाटी बढेका कारण नेपाली महिला हराउने क्रम बढेको घिमिरेले बताए ।
उनले भने, ‘हामीले सोधपुछ गर्दा नामै नसुनिएका मुलुकहरुमा जान लागेको भन्ने कुरा सुनाउँछन् ।’ उनले सीमामा पक्राउ परेका महिलासंग सोधपुछ गर्दा धेरैले सोही किसिमको जवाफ दिने गरेको बताए ।
सन् २०११ मा ८८ जना हराएका महिला खोजी गरिदिन माइती नेपालमा निवेदन परेको थियो । सोही बर्ष १७ जना त्यस्ता हराएका महिला फेला परेका थिए । अर्काे बर्ष पनि सोही संख्यामा निवेदन परेको थियो । उक्त बर्षमा भने ३० जना हराएका फेला परेका थिए ।
सन् २०१३ मा उक्त संख्या ह्वात्तै बढेर १ सय २१ पुगेको घिमिरेले बताए । उक्त बर्षमा २२ जना मात्र हराएका महिला फेला परेका थिए ।
त्यसपछिका बर्षहरु सन् २०१४ र २०१५ मा क्रमशः १ सय ६७ र १ सय ४८ जना हराएका महिलाका परिवार तथा आफन्तबाट खोजी गरिदिनका लागि निवेदन माइती नेपाल काँकरभिट्टामा परेको थियो ।
उक्त दुई बर्षमा हराएका ६४ जना महिला फेला परेका थिए । सन् २०१६ मा ३९ जना हराएका महिला मात्र फेला परेको माइती नेपाल काँकरभिट्टाले जनाएको छ । त्यस्ता हराउने महिलाहरुमा ३५ बर्षभन्दा मुनीका हुने गरेका छन् ।
हराएका महिला खोजी गरिदिन परेका निवेदनहरु अधिकांश पूर्वी तराई र पहाडि जिल्लाहरुबाट आउने गरेका छन् । गत बर्ष भूकम्प गएका बेला विभिन्न बहानामा महिलाहरुलाई फकाएर बाहिर लाने गरिएको कारण हराएका महिलाहरुको संख्यामा बृद्धि भएको प्रहरी अधिकारीहरु बताउँछन् ।
राज्यले महिलाका लागि आय आर्जन तथा रोजगारीको ग्यारेन्टी नगरुन्जेल महिला हराउने क्रम घट्ने संभावना कम देख्छन् महिलाका क्षेत्रमा काम गर्ने अधिकारकर्मीहरु ।
प्रहरीको तथ्यांकमा पनि आर्थिक बर्ष २०७०÷७१ मा १ सय ३३ महिला हराएका थिए । उक्त बर्ष पनि फेला परेको संख्या भने हराएकाको भन्दा निकै कम छ । उक्त आर्थिक बर्षमा ७६ जना हराएका महिला भेटिएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।
आर्थिक बर्ष २०७१÷७२ मा २ सय २० जना महिला हराएको जिप्रका झापाले जनाएको छ । सोही बर्षमा फेला परेका महिलाको संख्या १ सय १६ छ ।
गत आर्थिक बर्षमा १ सय ६४ जना महिला हराएको निवेदन प्रहरीमा परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक शैलेस थापा क्षेत्रीले जानकारी दिए । उनका अनुसार हराएका धेरै महिलाहरु रोजगारी बहानामा आफू बेचिएको थाह नै नपाई हराउने गरेका छन् ।
प्रहरीका अनुसार कतिपय महिलाले आफ्नै इच्छाले विहे गर्ने तर परिवारलाई जानकारी नगराउने गरेकाले पनि हराएका महिलाको संख्या बढेको हो । प्रहरी उपरीक्षक क्षेत्री भन्छन्, ‘आफैं विहे गर्छन् तर परिवारलाई भन्दैनन् । पछि परिवारसंग सम्पर्कमा आउँदा प्रहरी तथा निवेदन गरेका निकायमा सम्पर्क नै गर्दैनन् ।’