काँकरभिट्टा । आठौँ पूर्वाञ्चल क्षेत्रीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उद्घाटन खेलमा एथलेटिक्सतर्फ झापा जिल्लाले अग्रता कायम गरेको छ । झापाको काँकरभिट्टास्थित काँकरभिट्टा उमाविको मैदानमा आयोजित ४ सय मिटर दौडमा झापाका इर्शाद आलम प्रथम भए । जसमा निराजन अधिकारी उदयपुर दोस्रो र सन्तोष श्रेष्ठ तेस्रो भए । छात्रातर्फ संखुवासभाकी सन्ध्या पुरी प्रथम भइन् भने मोरङकी स्वतिका अधिकारी र झापाकी अञ्जु श्रेष्ठ दोस्रो र तेस्रो भइन् । छात्रको चार गुणा १०० मिटर दौडमा झापा प्रथम भयो । उदयपुर र सिराहा क्रमशः दोस्रो र तेस्रो भए । त्यस्तै, छात्रातर्फ झापा नै प्रथम भयो । सुनसरी र मोरङ दोस्रो र तेस्रो भए । छात्रको १०० मिटर दौडमा सुनसरीका रहिम आलम प्रथम हुँदा निरज धिमाल झापा र निश्चल धिमाल मोरङ दोस्रो र तेस्रो भए । छात्रातर्फ सुनसरीकी नेहा चौधरी प्रथम भइन् भने प्रजिना बस्नेत मोरङ र प्रतिमा श्रेष्ठ भोजपुर दोस्रो र तेस्रो भइन् । छात्र १५०० मिटर दौडमा पनि झापाका प्रकाश दनुवार प्रथम भए । सुनसरीका अनुराग ढकाल र उदयपुरका गणेश कटुवाल दोस्रो र तेस्रो भए । छात्रातर्फ खोटाङकी दीपा बस्नेत प्रथम हुँदा झापाकी गीता आचार्य र खोटाङकी शान्ता निरौला दोस्रो र तेस्रो भइन् । त्यस्तै, सटपुट छात्रातर्फ सप्तरीका विरेन्द्र चौधरी प्रथम भए भने संखुवासभाका सन्तोष राई र उदयपुरका बागदल राई दोस्रो र तेस्रो भए । छात्रातर्फ खोटाङकी विनिता राई प्रथम हुँदा इलामकी भवितामाया राई र मोरङकी प्रतिमा राई दोस्रो र तेस्रो भइन् । एथलेटिक्स प्रशिक्षक गोपाल यादवका अनुसार तीन हजार मिटर दौडको छात्रछात्रा दुवैको फाइनल खेल आइतबार हुनेछ । त्यस्तै, ज्याभलिन थ्रोमा दुवै, २०० मिटरको दुवै, ट्रिपल जम्पको दुवै, ४ गुणा ४०० मिटरमा दुवै र ८०० मिटरको दौडमा छात्रछात्राको फाइनल खेल आइतबारै हुनेछ । त्यस्तै, करातेतर्फ छात्राको ४२ केजी तौल समुहमा अञ्जना रानामगर प्रथम भइन् भने सुनसरीकी मेघा लिम्बू दोस्रो तथा झापाकी लक्ष्मी मुर्मु र कञ्चन क्षेत्री तेस्रो भइन् । छात्र ५२ केजी तौल समुहमा सुनसरीका रोजन खड्का प्रथम भए भने मोरङका सौगात राई दोस्रो तथा धनकुटाका सौगात राई र सिद्धार्थ गिरी सिराहा तेस्रो भएको प्रशिक्षक मदनकुमार भण्डारीले जानकारी दिए । अन्य तौल समुहका फाइनल खेल आइतबारै हुनेछ । त्यस्तै, उसु, तेक्वान्दो, भलिबल र कबड्डीको पनि फाइनल खेल आइतबारै हुने आयोजकले जनाएको छ । शनिबारै सम्पन्न लङजम्पमा भने छात्रतर्फ झापाका रोहित फ्याक प्रथम भएका छन् । मोरङका सतिश चौधरी र विवेकानन्द चौधरी उदयपुर दोस्रो र तेस्रो भए ।
त्यस्तै, छात्रातर्फ संखुवासभाकी सुनिता गुरुङ प्रथम हुँदा झापाकी शान्ति मडी र सविनाकुमारी उराव दोस्रो र तेस्रो भइन् ।
यसैविच राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले नेपाली खेलकुद क्षेत्रको विकासमा झापाले विशिष्ट योगदान पुर्याएको बताएका छन् ।
आठौँ पूर्वाञ्चल क्षेत्रीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको शनिबार झापाको काँकरभिट्टामा उद्घाटन गर्दै सदस्य सचिव विष्टले खेलकुदको इतिहासमा झापाको योगदान महत्वपूर्ण रहेको बताए ।
सरकारको जारी बजेट भाषणमा खेलाडीलाई पेन्सन र जीवन विमाको पनि व्यवस्था गरेको उल्लेख गर्दै उनले यही बजेटबाट झापामा खेलकुदका पूर्वाधार विकासका लागि पर्याप्त बजेट विनियोजन गरेको स्पष्ट पारे ।