सुरुङ्गा । झापाको कन्काई नदीको दुवै तटमा परम्परागत रुपमा लाग्दै आएको मेलाको लाखौं भक्तजनले अवलोकन गरेका छन् । मेला आयोजक समितिका अध्यक्ष विवेक अग्रवालले दिएको जानकारी अनुसार माघ १ गते मात्रै डेढ लाख भक्तजनले माईमेलाको अवलोकन गरेका छन् ।
मेला भर्न पूर्वको झापा, मोरङ, सुनसरी, सिराहा, धनकुटा, इलामसहित भारत, भुटान लगायतका क्षेत्रबाट भक्तजनको घुइँचो लागेको छ ।

सौर्यमानको हिसावले माघ महिना आरम्भ हुने पहिलो दिनलाई माघे संक्रान्ति भनिन्छ । मकर राशिको नामबाट माघे संक्रान्तिलार्ई मकर संक्रान्ति पनि भन्ने गरिएको छ ।
आजकै दिनदेखि सूर्यको उत्तरायण शुरू हुने हुँदा रात छोटा र दिन लामो हुने गरेको छ । आजको दिन स्नान गर्ने, तिलको लड्डु, तरुल लगायतका कन्दमुल खाने परम्परा रही आएको छ । धार्मिक मान्यता अनुसार आजको दिनको नदी स्नान उत्तम मानिन्छ । मकर संक्रान्तिको दिन सूर्योदय हुनु पूर्वको नदी स्नान सबैभन्दा उत्तम मानिएको छ ।
पुस २८ गतेदेखि सुरु भएको मेला माघ २ गतेसम्म चल्नेछ । मेलामा विभिन्न खेल तमासासहित अन्य ३ सय स्टलहरु रहेका थिए । टाढाबाट आएका लाखौं भक्तजन एवम्. सवारी साधनको चापलाई व्यवस्थापन गर्न प्रहरी एवम् स्वयम्सेवकलाई हम्मेहम्मे परेको थियो ।