काठमाडौ । श्रीस्वस्थानी व्रतारम्भका अवसरमा सब्सकास्टले मोबाइल तथा कम्प्युटर प्रयोगकर्ताको सुविधाका लागि पुस २८ बाट दैनिक स्वस्थानी वाचन सुरु गरेको छ ।
कथा वाचनको परम्परागत शैलीलाई कायम राख्दै एक महिनासम्म हरेक दिन नेपाली समयअनुसार मध्याह्न १२ बजे सब्सकास्ट डट कममा श्रीस्वस्थानी महिमा सुन्न सकिनेछ । यो नौलो अभियान धेरैभन्दा धेरै श्रोतासम्म पुग्न सकोस् भनेर हरेक दिनको अध्यायलाई साउन्डक्लाउडमा पनि संगृहीत गरिने भएको छ ।
‘रुचि हुँदाहुँदै व्यस्तता वा अन्य कुनै कारणले स्वस्थानी सुन्न नपाएकाहरूले अब आफ्नै मोबाइल वा कम्प्युटरमा दैनिक अध्याय सुन्न सक्नेछन्’, सब्सकास्टकी निर्देशक तथा रेडियो प्रस्तोता सबिना कार्कीले भनिन्, ‘दसैंतिहारका समयमा प्रस्तुत मन्त्रोच्चारणहरूलाई श्रोताहरूले निकै मन पराएकाले हामी स्वस्थानीमा हौसिएका हौं ।’
विशेष गरेर खाडी मुलुकमा काम गरिरहेका दाजुभाइ दिदीबहिनीको अनुरोधमा यो कार्यक्रम सुरु गरेको कार्कीले जानकारी गराइन् ।