काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले नेपाली फुटबलको विद्यमान संरचना र अवस्थाप्रति चिन्ता व्यक्त गर्दै फुटबललाई विकेन्द्रीकरण गर्नुपर्नेमा जोड दिएका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले काठमाडौंमा भइरहेको राष्ट्रिय लिगमा दर्शकको न्यून उपस्थितिप्रति दुखेसो पोखेका छन्।
लिगका खेलहरूमा २-३ सय दर्शक पनि नदेखिनुले नेपाली फुटबलको लोकप्रियतामा प्रश्न उठाएको भन्दै उनले फुटबल सकिन लागेको भान हुन थालेको टिप्पणी गरेका छन्।
शाहले काठमाडौंको तुलनामा मोफसलमा फुटबलको छुट्टै क्रेज रहेको उल्लेख गरेका छन्। मोफसलमा आयोजना हुने गोल्डकपहरूमा दैनिक हजारौँ दर्शकको उपस्थिति हुने र फाइनल खेलमा टिकट नै नपाउने अवस्था रहनुले फुटबलप्रतिको आकर्षण अझै बाँकी रहेको उनको तर्क छ।
“काठमाडौंमा हुने लिगमा अधिकांश खेलाडी मोफसलले नै उत्पादन गर्छ, तर देशको मेरुदण्ड मानिने लिग संरचनामा मोफसलका क्लबहरूको उपस्थिति निकै सीमित छ,” शाहले भनेका छन्।
केन्द्रिकृत फुटबल संरचनाका कारण काठमाडौं बाहिरका क्लबहरूलाई टिक्न गाह्रो भएको औंल्याउँदै उनले अब फुटबलको नीति नै परिवर्तन गर्नुपर्ने बताएका छन्।
फुटबललाई काठमाडौंका केही सीमित क्लबहरूमा मात्र सीमित नराखी देशभरि फैलाउनुपर्ने र व्यावसायिकता भर्नुपर्नेमा उनको जोड छ।
“फुटबल खेल्न कुनै क्लब र खेलाडी काठमाडौं मात्र आउन नपरोस्, बरु काठमाडौंका क्लब र खेलाडीलाई मोफसलका टिमहरूले निम्ता दिने वातावरण बनोस्,” उनले आफ्नो स्टाटसमा लेखेका छन्।
शाहले पूर्वमा झापा ११ खेल्दा धनगढीका दर्शकले मैदान भरिने र पश्चिमको धनगढी रंगशालामा मछिन्द्र वा थ्रीस्टार जस्ता क्लबका झण्डाहरू फहराउने सपना देखेका छन्।
फुटबलकै कारण कुनै पनि खेलाडीले विदेशी भूमिमा श्रम गर्न जान नपर्ने वातावरण सिर्जना हुनुपर्ने उनको भनाइ छ।
यसै सन्दर्भमा उनले आजबाट झापाको डोमालाल राजवंशी रंगशालामा सुरु हुन लागेको नेपालकै प्रतिष्ठित ‘झापा गोल्डकप’ को सातौँ संस्करणको सफलताको शुभकामना समेत व्यक्त गरेका छन्।
