झापा । ‘प्रेरणाका लागि पुस्तक’ भन्ने सन्देशका साथ यही २०७३ पुस २९ देखि माघ ८ गतेसम्म झापाको विर्तामोडस्थित अतिथि सदनमा बृहत पुस्तक प्रदर्शनी आयोजना हुन लागेको छ ।

भाषा–साहित्यको प्रवर्धन , विकास एवं सांस्कृति उन्नयनका लागि अहम् र अग्रगामी भूमिका निर्वाह गर्ने कार्ययोजनासाथ डिकुरा पब्लिकेसनको आयोजनामा हुन लागेको यस प्रदर्शनीमा देशीविदेशी प्रकाशनको सहभागीता हनेछ ।
बृहत् पुस्तक प्रदर्शनी अन्तर्गत विभिन्न स्वदेश तथा विदेशका सयभन्दा बढी प्रकाशन संस्थाका विविध विषयका ६ हजारभन्दा बढी शीर्षकका पुस्तकहरुको प्रदर्शन एवं १५ देखि ३५ प्रतिशतसम्म छुटमा बिक्री वितरणको व्यवस्था गरिनेछ ।
यो प्रदर्शनी नयाँ, पुराना, चर्चित र दुर्लभ सबै किसिमका पुस्तकहरुको संगमस्थल हो । दैनिक जीवनको निराशालाग्दो समयमा उत्प्रेरक पुस्तकहरुको पठनका माध्यमबाट पाठकमा नयाँ ऊर्जा, उत्साह र आशाको सञ्चार गर्नु प्रदर्शनीको मुख्य उद्देश्य रहेको छ ।देशका विभिन्न स्थानमा आयोजना गर्ने योजना अन्तर्गत विर्तामोडबाट प्रारम्भ हुन लागेको यो यात्रा देशका अन्य प्रमुख स्थानहरुमा पनि विशेष साहित्यिक महोत्सवका रुपमा लिएर अघि बढने छ ।
प्रदर्शनीका आकर्षणहरु
- हरेक नेपालीमा पुस्तक संस्कृतिको विकास र विस्तार गर्न पहल गर्ने, पठनपाठनलाई व्यावसायको रुपमा विकास गर्ने ।
- विभिन्न उमेरसमूहका पाठकका लागि विविध विषयका नयाँ तथा पुराना दुर्लभ पुस्तकहरु उपलब्ध गराउने ।
- स्वदेशी तथा विदेशी प्रकाशनका चर्चित र लोकप्रिय पुस्तकहरुका साथै १०० भन्दा बढी प्रकाशन संस्थाहरुको सहभागिता रहने ।
- पुस्तकमा १५ देखि ३५ प्रतिशतसम्म छुट र विद्यालय एवं पुस्तकालयका लागि विशेष छुटको व्यवस्था ।
- विभिन्न पार्टीका उच्च नेता, उच्च पदस्थ कर्मचारी, कलाकार, साहित्यकार, पत्रकार, कूटनीतिज्ञ, विविध पेशा व्यवसायी, शिक्षाकर्मी, विद्यार्थी लगायत विविध क्षेत्रका विशिष्ट व्यक्तित्वहरुको आगमन ।
- पाठकलाई आवश्यक विविध विषयका पुस्तकहरु एउटै थलोमा उपलब्ध गराउने ।
- आजका बालबालिका नै देशका भविष्य हुन् र उनीहरु नै भविष्यका पाठक र बौद्धिक वर्ग पनि हुने भएकाले बालबालिकामा पढ्ने बानीको विकास गर्ने उद्देश्यले बालसाहित्यका कृतिलाई विशेष प्राथमिकताका साथ प्रस्तुत गर्ने ।
- लेखक र पाठकहरुका बीचमा प्रत्यक्ष र सुमधुर सम्बन्ध स्थापित गर्न हस्ताक्षर र अन्तरक्रियाहरु संचालन गर्ने ।
- विभिन्न साहित्यिक संघ संस्थाहरु, पुस्तक प्रकाशन संस्थाहरु, पुस्तक प्रेमी पाठकहरु तथा नयाँ र पुराना पुस्ताका लेखकहरुलाई एउटै थलोमा जम्मा गराउने ।