काठमाडौँ- सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश दिएको छ। प्रसाईंका छोरा निराजनले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले आइतबार उनलाई हिरासतबाट मुक्त गर्न आदेश दिएको हो।
अदालतले आदेशमा उल्लेख गरेअनुसार, प्रसाईं संलग्न महाअभियानले सञ्चालन गर्ने कार्यक्रम शान्तिपूर्ण ढंगले सञ्चालन गर्ने सहमति भइसकेको र परिवर्तित सन्दर्भमा निवेदक विरुद्धको कसुरमा अनुसन्धान गर्नुपर्ने वा हिरासतमा राख्नुपर्ने औचित्य समाप्त भइसकेको देखिएको छ।
यसकारण, अदालतले प्रसाईंविरुद्ध जारी भएको पक्राउपूर्जी र म्याद थप लगायतका सम्पूर्ण अनुसन्धान सम्बन्धी काम कारबाही बदर गरी गैरकानुनी थुनाबाट तत्काल मुक्त गर्न बन्दी प्रत्यक्षीकरणको आदेश जारी गरेको छ।
प्रसाईंलाई हिरासत मुक्त गर्ने यो आदेश सरकार र प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति बचाउ अभियानबीच शनिबार राति बालुवाटारमा भएको वार्तापछि आएको हो। उक्त वार्तामा वर्तमान शान्ति सुरक्षाको अवस्थालाई ध्यानमा राखी महाभियानले उठाएका मुद्दाहरूको सम्बोधनका लागि सरकारले निरन्तर छलफल, वार्ता र सहजीकरण गर्दै जाने सहमति भएको थियो। वार्तापछि अभियानले आजदेखि गर्ने भनिएका आन्दोलनका सबै कार्यक्रम फिर्तासमेत लिएको थियो।
महाभियानले यसअघि ७ मंसिरदेखि नेपाल बन्द, अनिश्चितकालीन आम हड्ताल लगायतका कडा कार्यक्रमहरू घोषणा गरेको थियो। प्रसाईंलाई भने प्रहरीले सार्वजनिक शान्तिमा खलल पुर्याउनेगरी अभिव्यक्ति दिएको आरोपमा २ मंसिरको मध्यराति उनकै निवासबाट पक्राउ गरेको थियो।
