काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषको शवदाह गृह मेसिन खरिदमा अनियमितता गरेको आरोपमा १४ व्यक्ति र दुई कम्पनीविरुद्ध विशेष अदालतमा आइतबार मुद्दा दायर गरेको छ।
मुद्दा दायर हुनेमा कोषका सदस्य सचिव मिलनकुमार थापा, पूर्वनिमित्त सदस्य सचिव राजुकुमार खत्री, पूर्वकार्यकारी निर्देशक घनश्याम खतिवडा, पूर्वनिमित्त उपनिर्देशक सिताराम रिसेल, इन्जिनियरहरू पशुपति ठाकुर, डेनिस उप्रेती र रमेश पुरी, लेखा अधिकृत चन्द्रप्रसाद खनाल, पुल्चोक क्याम्पसका विद्युतीय विभाग प्रमुख उपप्राध्यापक युवराज अधिकारी, कोषका कानुनी सल्लाहकार लैनबहादुर थापा, म्याप इन्टरप्रेनर्स प्रालिका सञ्चालकहरू मनोज पुरी र यदुनन्दन भट्टराई, तथा एप्पल इन्जिनियरिङ प्रोफेसनल कन्सल्टेन्सी प्रालिका प्रबन्ध निर्देशक सुरज चापागाईं छन्।
अख्तियारका अनुसार, यो प्रकरणमा राज्यलाई १० करोड ३३ लाख ९१ हजार ३० रुपैयाँ बराबरको हानि भएको छ। अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले खरिद प्रक्रियामा सुरुदेखि नै सार्वजनिक खरिद अनुगमन कार्यालयको मापदण्डविपरीत बोलपत्र आह्वान गरिएको बताए। बोलपत्र म्याप इन्टरप्रेनर्सलाई फाइदा पुग्ने गरी अन्य प्रतिस्पर्धीलाई वञ्चित गरिएको आरोप छ।
३२ लाख ५० हजार भारू मूल्यको शवदाह मेसिनलाई १ करोड ५२ लाख रुपैयाँमा खरिद गरेको र पेश्की भुक्तानी दिएको आरोप छ। कुल १० करोड ३३ लाख ९१ हजार ३० रुपैयाँको ठेक्का सम्झौतामा हिनामिना भएको अख्तियारको दाबी छ।
खरिद गरिएको मेसिनमा कमसल गुणस्तर भेटिएको, मर्मत नगरेको र हाल सञ्चालनमा नरहेको अवस्थामा पुगेको अख्तियारले जनाएको छ।
