काठमाडौँ- सरकारले ऐन जारी गर्ने विश्वासिलो आधार नदिएको भन्दै नेपाल शिक्षक महासंघले आन्दोलन जारी राख्ने निर्णय गरेको छ ।
बिहीबार बसेको महासंघको बैठकले आन्दोलनलाई थप व्यवस्थित गर्ने निर्णय गरेको हो ।
सरकारले १२ वैशाखमा संसदको बर्खे अधिवेशन बोलाए पनि सभामुख देबराज घिमिरेबाट फरक कुरा आएकाले महासंघ विश्वस्त हुन नसकेको हो ।
‘सभामुखले त्यस्तो अभिव्यक्ति दिनु भएको छ । यो अधिवेशनमा शिक्षा विधेयक टेबल गर्न नसकिने कुरा आयो,’ महासंघ सहअध्यक्ष नानुमाया पराजुलीले भनिन्, ‘१२ गते वर्षे अधिवेशन बोलाउनु भयो । ६–७ गते नै बोलाउन सकिन्थ्यो । यसले सरकार जिम्मेवार नभएको देखाउँछ ।’
शिक्षक कर्मचारीको सेवा सुविधाको विषय मन्त्रिपरिद्बाट निर्णय गराउने भने पनि सरकारले सर्त राखेकाले सहमत हुन नसकेको उनले बताइन् ।
आन्दोलन छोडे मात्र मन्त्रिपरिषद्बाट निर्णय गराउने सर्त मन्त्रालयले राखेको गुनासो शिक्षकहरूको छ ।
‘सरकारले रित्तै घर फर्काउन खोजेको छ । अब झन् ७७ जिल्लाबाट शिक्षकहरू काठमाडौं आउनुहुन्छ । विद्यालयमा कोही पनि रहनु हुन्न । सरकारले थाम्न सक्दैन,’ उनले भनिन् । शिक्षकहरूले काठमाडौंमा आन्दोलन थालेको १६ दिन बित्यो तर सहमति हुन सकेको छैन ।
