झापा । आठौँ पूर्वाञ्चल क्षेत्रीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता आजदेखि झापाकाे काँकरभिट्टामा सुरु हुँदैछ ।
पूर्वाञ्चल खेलकुद विकास समितिको आयोजना तथा झापा जिल्ला खेलकुद विकास समितिको संयोजनमा हुने दुई दिवसीय क्षेत्रीय प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले गर्दैछन् ।
आठौँ गणतन्त्र दिवसको सन्दर्भ पारेर आयोजित प्रतियोगितालाई सम्पन्न गर्न खेलकुद विकास समितिका पदाधिकारीको नेतृत्वमा विभिन्न १० वटा उपसमिति निर्माण गरी परिचालन गरिएको समितिका कार्यालय प्रमुख टहलदास मैनालीले जानकारी दिए । पूर्वी नेपालका १६ वटा जिल्लाका खेलाडीबीचमा विभिन्न ६ वटा खेल विधामा प्रतिस्पर्धा हुने प्रतियोगितामा काँकरभिट्टा उमाविको खेल मैदानमा एथ्लेटिक्स, नयाँ बसपार्क प्यारीभिट्टामा भलिबल र कबड्डी, काँकरभिट्टा खानेपानी संस्थाको हलमा कराते, मेची सामुदायिक कभर्ड हलमा तेक्वान्दो र उसुका खेलहरु सञ्चालन गरिनेछ ।