काठमाडौँ- संसदीय समितिले काठमाडौंको तीनकुने र आसपासका स्थानमा अब कुनै पनि प्रकारका सभा, बिरोध प्रदर्शन, धर्ना, लगायतका कार्यक्रम गर्न अनुमति नदिन सरकारलाई निर्देशन दिएको छ ।
शुक्रवार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले तीनकुने र आसपासका स्थानमा अब कुनैपनि प्रकारका सभा, बिरोध प्रदर्शन, धर्ना, लगायतका कार्यक्रम गर्न अनुमति नदिन सरकारलाई निर्देशन दिएको हो ।
समितिको निर्णय जानकारी गराउँदै समिति सभापति रामहरि खतिवडाले काठमाडौंको तीनकुनेमा गत चैत्र १५ गते शुक्रवारको दिन राजावादीहरुले गरेको बिरोध प्रदर्शन गर्दा भएको घटनाको भर्त्सना गर्ने निर्णय भएको बताए।
उक्त घटनामा दोषी उपर आवश्यक छानविन गरी कानूनी कारबाही अघि बढाउन नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र गृह मन्त्रालयलाई बैठकले निर्देशन दिएको उनले जानकारी दिए।
चैत्र १५ गतेको घटनाको सत्य तथ्य छानविन गरी प्रत्यक्ष, अप्रत्यक्ष रुपमा त्यसमा संलग्न हुने व्यक्तिहरुलाई आवश्यक छानविन गरी कानूनी कारबाही अघि बढाउन नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।
आगामी दिनमा यस्ता खालका हिंसात्मक घटनाहरू दोहोरिनबाट रोक्न एवं संविधान, कानून एवं संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यको रक्षाको लागि गम्भीरताका साथ अघि बढ्न पनि सरकारलाई निर्देशन दिएको छ ।
