काठमाडौँ- नेपाल विद्युत प्राधिकरणका निःवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले राज्यले इमान्दार राष्ट्रसेवक कर्मचारीलाई सरकारले हतोत्साहित र अपमानित गरेको आरोप लगाएका छन् ।
सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएपछि शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले सरकारले आफूलाई अपमानित गरेर हटाएको आरोप लगाएका हुन् । उनले नेपालको कानूनले तोकिए अनुसार राष्ट्रसेवामा खटिएको कर्मचारीलाई राज्यको सम्पूर्ण शक्ति खनिएको जिकिर गरे ।
उनले आफूलाई अपमान गर्न सरकारका जिम्मेबार व्यक्तिले सार्वभौम संसदको दुरुपयोग गरेको बताए। उनले आफूले पदमा बस्दा गरेको कुनै पनि कामबाट पछुतो गर्नुपर्ने स्थान नभएको बताए । पदीय दायित्वमा रहँदा अवसर र अधिकारलाई सदुपयोग गर्न आफूले समय खेर नफालेको उनको भनाइ छ ।
निःवर्तमान कार्यकारी निर्देशक घिसिङले निरन्तर घाटामा गएको विद्युत प्राधिकरणलाई आफ्नो नेतृत्वमा अर्बौं नाफामा लैजान सफल भएको दाबी गरे। उनले प्राधिकरणको सम्पत्ति तीन गुणाले वृद्धि गरी प्राधिकरणलाई आत्मनिर्भर बनाएको बताए।
अधिकांश नागरिको घरघरमा बिजुली सेवा उपलब्ध गराउनु आफ्नो कार्यकालको सबैभन्दा ठूलो उपलब्धि भएको उनको भनाइ छ । उनले स्थानीय निकायहरूसँगको साझेदारीमा स्मार्ट सडक बत्ती विस्तार गरी शहर उज्यालो बनाउने कार्यमासमेत प्राधिकरणले ठूलो लगानी गरेको बताए।
निःवर्तमान कार्यकारी निर्देशक घिसिङले देशमा लोडसेडिङको अन्त्यदेखि प्राधिकरणलाई नाफामा लैजानेसम्मका कार्य इमान्दारीपूर्वक गरेको बताए। जवाफदेखिता तथा नतिजामुखी नेतृत्वका कारण आफूले सफलता प्राप्त गरेको उनको भनाइ छ । उनले आवश्यक परे राष्ट्रसेवाको जुनसुकै भूमिकामा रहेर पनि आफूले देशका लागि योगदान गर्न सधैँ तयार रहेको बताए।
निःवर्तमान कार्यकारी निर्देशक घिसिङले आफूले प्रभावकारी नेतृत्व, प्रस्ट भिजन र पारदर्शी विधिबाट कार्य गरेकाले सफलता प्राप्त गरेको बताए । उनले आफूले प्राप्त गरेको सफलताले जनताको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेलेकाले राज्यका अन्य क्षेत्रमा पनि लागू गर्नुपर्नेमा जोड दिए।
एउटा मन्त्री र संस्थाको नेतृत्वको गलत नियत र निर्णयले क्षण भरमा संस्था लथालिङ्ग र भताभुङ्ग हुनसक्ने अवस्था रहेकाले सबैले खबरदारी गर्नुपर्ने उनले बताए ।
