झापा- युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलकुदलाई सामाजिक उत्तरदायित्वअन्तर्गत राख्नुपर्ने बताएका छन्।
आइतवार काठमाडौंमा पार्टी निकट नेपाल लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन केन्द्रीय निर्देशन समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले पहिला खेलकुदलाई सामाजिक उत्तरदायित्वअन्तर्गत राखेको भए पनि केही वर्ष यता नराखेकोप्रति असन्तुष्टि जनाए। उनले खेलकुदलाई सामाजिक उत्तरदायित्वमा राख्नसके रोजगारी सिर्जनादेखि अन्य धेरै फाइदा हुने बताए ।
आगामी वर्षको बजेटमा खेलकदलाई सामाजिक उत्तरदायित्वअन्तर्गत राख्न पहल गर्ने उनले बताए । कानून नमान्ने खेलकुद संघलाई कारबाही गर्ने चेतावनीसमेत उनले दिए।
खेलकुद संघका साथै राष्ट्रिय खेलकुद परिषद्ले समेत मन्त्रालयको निर्देशनको पालना नगरी अघि बढ्न खोजेको मन्त्री चौधरीको भनाइ छ ।
अदालतको आदेश आएपछि नेपाल ओलम्पिक कमिटीको निर्वाचन स्थगित गर्न पत्राचार गरे पनि कमिटीले त्यसलाई अटेर गरेको बताए ।
मन्त्री चौधरीले ओलम्पिक कमिटीको निर्वाचनमा सहभागी नहुन खेलकुद संघहरूलाई पत्रचार गरेपनि नमानेको भन्दै स्पष्टीकरण पठाएकोसमेत बताए ।
केही दिनभित्र खेलकुद संघलाई कारवाही गर्ने भन्दै उनले त्यसमा हस्तक्षेप नगर्न शीर्ष नेताहरुलाई आग्रह गरे ।