झापा- दोस्रो संस्करणको बर्खा स्मृति झापा जिल्ला अन्तरपालिका टि–२० क्रिकेट प्रतियोगिता माघ ११ गतेदेखि सुरु हुने भएको छ।
माघ ११ गते हुने उद्घाटन खेलमा भद्रपुर नगरपालिका र दमक नगरपालिका भिड्ने भएका छन्।
शनिवार प्रतिष्ठानको कार्यालय बुधबारेमा भएको पत्रकार सम्मेलनमार्फत खेल तालिका सार्वजनिक गरिएको छ ।
प्रतियोगितामा सहभागी झापाका १५ वटै पालिकाका प्रतिनधिबीच टाइसिट ड्र गरिएको प्रतिष्ठानका अध्यक्ष मदन प्रसाईंले जानकारी दिए ।
बर्खा स्मृति प्रतिष्ठान बुद्धशान्तिको आयोजनामा यही माघ ११ गतेदेखि १९ गतेसम्म बुद्धशान्ति-३ स्थित पेट्रोल पम्प छेउको खुला मैदानमा हुने प्रतियोगिताको दोस्रो दिन बिर्तामोड नगरपालिकाले कमल गाउँपालिकाको सामना गर्नेछ ।
त्यस्तै, माघ १२ गते कनकाई नगरपालिकाले बाह्रदशी गाउँपालिकाविरुद्ध खेल्दा माघ १३ गते शिवसताक्षी नगरपालिका र झापा गाउँपालिका तथा मेचीनगर नगरपालिका र हल्दिबारी गाउँपालिका भिड्ने छन् ।
त्यस्तै, माघ १४ गते बुद्धशान्ति गाउँपालिकाले गौरादह नगरपालिका र गौरीगञ्ज गाउँपालिकाले कचनकवल गाउँपालिकाको सामना गर्नेछन् । अर्जुनधारा नगरपालिकाले बाइ पाएको छ ।
प्रतियोगिताको विजेताले नगद १ लाख ५० हजार, मेडल, ट्रफी, प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद ७५ हजार, मेडल, ट्रफी, प्रमाणपत्र पाउने अध्यक्ष प्रसाईंले बताए ।
खेलको प्लेयर अफ दि म्याचलाई ३ हजार, सेमिफाइनलको प्लेयर अफ दि म्याचलाई ५ हजार र फाइनलको दिन ७ हजार तथा प्लेयर अफ दि सिरिजलाई १३ हजार पुरस्कार दिइनेछ ।
यसअघि फागुन २ गतेदेखि १२ गतेसम्म भएको पहिलो संस्करणको प्रतियोगिताको उपाधि बिर्तामोड नगरपालिकाले जितेको थियो ।
प्रतियोगिताको दौरान भारतीय महिला टिम र नेपाली महिला टिमबीच दुई खेल हुनेछ ।
