झापा- झापा कपको खेलतालिका सार्वजनिक गरिएको छ ।
खेलतालिका अनुसार झापा कपको उद्घाटन खेलमा काठमाडौँको त्रिभुवन आर्मी क्लब र मोरङको एलएक्स सीआइटी फुटबल क्लबबीच प्रतिष्पर्धा हुने भएको छ ।
झापा–११ फुटबल क्लबको आयोजनामा हुन लागेको प्रतियोगिताको खेलतालिका डोमालाल राजबंशी रंगशालामा सार्वजनिक गरिएको हो ।
यही मंसिर २९ गतेदेखि झापा कप हुँदैछ । प्रतियोगितामा आयोजक झापा–११ फुटबल क्लब, मोरङको एलएक्स सिटी फुटबल क्लब, सिराहाको सलहेस युवा क्लब, काठमाडौंको एनआरटी फुटबल क्लब, चर्च व्वाईज युनाइटेड, इटहरीको राष्ट्रिय जागृति क्लब सहभागी हुने भएका छन् ।
यसैगरी दार्जिलिङको जिटिए, काठमाडौं जिल्ला लिग च्याम्पियनसमेत रहेको चित्लाङ फुटबल क्लब, त्रिभुवन आर्मी क्लब र रुपन्देहीको गोर्खा ब्वाईज स्पोर्ट्स क्लब सहभागी हुने भएका छन् ।
प्रतियोगिताको फाइनल खेल पुस ८ गते हुने छ । प्रतियोगिताका लागि १० हजार जना दर्शक क्षमताको बेम्बो प्याराफिट निर्माण, खेलमैदान मर्मतलगायतका काम पूरा भएको आयोजकले जनाएको छ ।
प्रतियोगिताको बिजेताले नगद १० लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ । उपबिजेताले ५ लाख रुपैया पुरस्कार पाउने आयोजक समितिका संयोजक केशबराज दाहालले जानकारी दिए । प्रत्येक खेलको प्लेयर अब द म्याचले १० हजार नगद तथा प्रतियोगिताको अवधिमा सर्वाधिक गोलकर्ता एकजना तथा उत्कृष्ट गोलकिपर एकजनालाई ३५ हजार नगद पुरस्कार प्रदान गरिने छ । यसैगरी प्रतियोगिताको एक उदीयमान खेलाडीलाई झापा ट्यालेन्ट घोषणा गरेर नगद ३५ हजार रुपैयाँ प्रदान गरिने छ ।
यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट एकजना खेलाडीलाई मष्ट भ्यालु्एबल खेलाडी घोषित गरेर नगद १ लाख रुपैयाँ प्रदान गरिने झापा–११ का अध्यक्ष जलकुमार गुरुङले जानकारी दिए ।
