झापा – झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा प्रथम ‘बिर्तामोड झापा कप’ नकआउट फुटबल प्रतियोगिता आयोजना हुने भएको छ।
झापा–११ फुटबल क्लबको आयोजनामा बिर्तामोड झापाकप फुटबल प्रतियोगिता आयोजना गरिने भएको हो।
आगामी मंसिर २९ गतेदेखि पुष ८ गतेसम्म आयोजना हुने प्रतियोगितामा नेपाल र भारतका उत्कृष्ट १० टिमको सहभागिता रहने आयोजकले सोमबार बिर्तामोडमा पत्रकार सम्मेलन गरेर जनाएको छ।
प्रतियोगितामा प्रतिस्पर्धा गर्ने टिमसँग समन्वय गर्ने काम भइरहेको आयोजकले जनाएको छ। प्रतियोगिताको विजेताले नगद १० लाख, आकर्षक ट्रफी तथा उपविजेताले नगद ५ लाख रुपैयाँ र ट्रफी पाउने छन्।
लामो समयसम्म ‘बी’ डिभिजन फुटबल प्रतियोगिता नहुँदा झापा फुटबल क्लबका खेलाडीहरुमा नैराश्यता उत्पन्न भएको क्लबले जनाएको छ।
झापा ११ फुटबल क्लबको भगिनी संस्था झापा फुटबल क्लबका खेलाडीलाई आगामी प्रतियोगिताका लागि तयारी राख्नका लागि पनि प्रतियोगिता आयोजना गर्न लागिएको झापा ११ फुटबल क्लबका अध्यक्ष जलकुमार गुरुङले जानकारी दिए।