काठमाडौँ । नेपाल लगातार दोस्रोपल्ट साफ महिला च्याम्पियनसिपको उपाधिका लागि बंगलादेशसँग बुधवार भिड्दैछ ।
यसअघि पाँचपल्ट फाइनल पुगेर पनि उपाधिविहीन नेपालले बुधवार उपाधि भिडन्तमा साविकको विजेता बंगलादेशविरुद्ध चुनौती प्रस्तुत गर्न लागेको हो ।
गत संस्करण पनि नेपाल घरेलु मैदानमा बंगलादेशसँग पराजित हुँदा उपाधिविहीन बनेको थियो । यसपल्ट यी दुई टोली दशरथ रंगशालामा नै आमनेसामने हुँदैछ ।
यस पटक भने नेपाली टोली यो अवसर खेर नफाल्ने लक्ष्यमा छ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलकिपर एञ्जिला तुम्बापो सुब्बाले पनि उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रिने बताएकी छन् ।
फाइनलअगाडि पत्रकार सम्मेलनमा एञ्जिलाले सधैं फाइनलमा हार्दै आए पनि यसपल्ट अवसर नगुमाउने विश्वास व्यक्त गरेकी छन् ।
उनले बंगलादेश धेरै राम्रो टोली रहेको उल्लेख गर्दै विपक्षीलाई चुनौती दिन आफ्नो टोली तयार र सक्षम रहेको प्रतिक्रिया दिएकी छन् । उनले सेमिफाइनलमा अहिलेसम्मकै धेरै समर्थकको साथ पाएको स्मरण समेत गरिन् ।
उक्त समर्थक फाइनलमा पनि आउँदा नेपालका लागि त्यो बलियो साथ मिल्ने उनको विश्वास छ । कप्तान एञ्जिलाले अहिलेको टोली धेरै राम्रो र मजबुत रहेको पनि बताइन् ।
यो पुस्ताले पनि जित्न नसके नयाँ बलियो टोली निर्माणका लागि जित्न ५/१० वर्ष लाग्न सक्ने उनको भनाइ छ । त्यसैले पनि आफूहरू उपाधि जित्ने यो राम्रो अवसर गुम्न नदिने उनी बताउँछन् ।
गत संस्करणमा बंगलादेशसँग पराजित भएको स्मरण गर्दै उनले यसलाई बदलाका रूपमा भन्दा च्याम्पियन बन्ने अवसरका रूपमा लिने उनको भनाइ छ ।