काठमाडौँ । साफ महिला च्याम्पियनसिपको दोस्रो सेमीफाइनल खेलमा नेपाल विजयी हुँदै फाइनलमा प्रवेश गरेको छ।
नेपाल फाइनलमा साविक विजेता बंगलादेशसँग भिड्नेछ।
निर्धारित ९० मिनेटको खेलमा १-१ को बराबरी भएपछि टाइब्रेकरबाट अन्तिम निर्णय लिइएको थियो।
खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो।
नेपाल सुरुवातमा दबाबमा देखिए पनि २० मिनेटपछि भने नेपाल सम्हालिएको थियो। दर्शकले भरिभराउ रङ्गशालामा सावित्रा भण्डारी, रेखा पौडेल तथा अमिषा कार्कीले गोलका अवसर बनाए पनि गोल गर्न सकेनन्।
भारतले पनि केही खतरनाक अवसर बनाए पनि गोल गर्न चुकेको थियो। इन्जुरी समयमा पनि भारतले फ्रिकिकमा गोलका सुन्दर मौका चुकाएको थियो।
खेलको दोस्रो हाफमा नेपाली खेलाडी रेखा पौडेलले रातो कार्ड पाइन्।
पहिलो हाफमा पहेँलो कार्ड पाएकी उनले दोस्रो हाफमा रातो कार्ड पाइन्।
रेखालाई रेड कार्ड दिएपछि दर्शकहरु आक्रोशित भएका थिए। आक्रोशित दर्शकले मैदानमा पानीका बोतल फालेपछि खेल रोकिएको थियो।
भारतले खेलको ७० औँ मिनेटमा गोल गरेको हो।
रेखा पौडेलले रातो कार्ड पाएपछि १० खेलाडीमा सीमित भएको नेपाल १–० ले पछि परेको थियो।
त्यसपछि रंगशालाको अवस्था फेरि तनावग्रस्त बनेको थियो।
भारतले गोलको सेलिब्रेसन गरिरहँदा नेपालले बल चलाएर खाली पोस्टमा गोल गरेपछि पुनः तनाव सिर्जना भएको थियो।
तर, रेफ्रीले सुरुमा गोलको मान्यता दिए पनि पछि मान्यता नदिँदा फेरि विवादले खेल रोकिएको थियो।
दर्शकहरुले रेफ्रीविरुद्ध नाराबाजी गरेका थिए। विवादका कारण अवरुद्ध भएको भारत र नेपालको खेल पुनः सुरु हुनसाथ सावित्रा भण्डारीले उत्कृष्ट गोल गरिन्।
त्यसपछि नेपाल र भारत १-१ को बराबरीमा रहे।