काठमाडौँ । सहकारी पीडित वचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले तत्काल पीडितको रकम फिर्ता दिने प्रत्याभूति दिलाउन सरकारसँग माग गरेको छ ।
शनिवार सिंहदरबारमा सहकारी संस्था वचत रकम दुरुपयोग संसदीय छानविन विशेष समितिले बोलाएको छलफलमा महासंघका पदाधिकारीहरुले सरकारसँग सो माग गरेका हुन् ।
उनीहरुले सहकारी पीडितहरुको मागलाई सहज ढंगले बुझिदिन पनि आफूहरुलाई आग्रह गरेको समितिका सभापति सूर्यबहादुर क्षेत्री थापाले जानकारी दिए ।
छलफलमा कान्तिपुर, गौतमश्री, लालीगुराँस, देउराली, गुडवील जस्ता सहकारीका वचतकर्ताहरु पनि उपस्थित भएको र उनीहरुबाट पीडितको माग सम्बोधन गर्नका लागि आफूहरुलाई सहज भएको अनुभुति भएको पनि विशेष समितिले जनाएको छ ।
महासंघमा आवद्ध सहकारी पीडितहरुले आफूलाई ठगी गरेको सहकारीमा धर्ना, अनसनलगायतका विरोधका कार्यक्रमलाई निरन्तरता दिँदै आएका छन् ।
