काठमाडौँ । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले खेलकुद संघहरुलाई तत्काल क्यालेण्डर बनाएर काम गर्न निर्देशन दिएका छन्।
आइतवार काठमाडौंमा विभिन्न सेखलकुद संघहरुको वार्षिक क्यालेण्डर सार्वजनिक कार्यक्रममा बोल्दै उनले यस्तो निर्देशन दिएका हुन् । उनले वार्षिक क्यालेण्डर सार्वजनिक नगर्ने संघहरुलाई तत्काल क्यालेण्डर बनाएर सार्वजनिक गर्न र क्यालेण्डर नबनाए अप्रिय निणर्य लिन बाध्य हुने चेतावनी दिए ।
उनले खेलकुद संघहरुले खेलहरु नै नगर्ने हो भने जनाइमा साँचो झुन्ड्याएझैँ झुन्डिरहन आवश्यक नरहेको पनि स्पष्ट पारे । उनले खेलकुदलाई कुनै संघ बन्धक बनाएर राख्न नहुने बताए ।
उनले भने, ‘यो संघहरुको पनि २७ हुँदै ४१ को संख्यामा आयो भन्ने छ । जुन संघहरुले आफ्नो कार्यक्रम दिँदैन त्योप्रति हाम्रो गम्भीर ध्यानाकर्षण छ । त्यो संघले कार्यक्रम नगर्ने हो भने म अहिले नै शतर्क गर्न चाहन्छु । अप्रिय निणर्य लिनुपर्ने हुन्छ । ऐनले भनेका कुरा र संघ मात्र ओगटेर कार्यक्रम नै नगर्ने संघ चाहिएन । भार किन बनेर बस्ने । जतिसक्दो छिटो खेलकुद परिषद्मा बाँकी संघहरुले पनि केही प्राविधिक त्रुटी भएका छन् भने खेलकुद परिषद् सहजीकरण गर्न चाहन्छ । प्राविधिक समस्या पनि नभएको र जनाइको साँचो भिरेको जस्तो गरेर खेलकुदलाई कुनै संघ कसैले पनि बन्धक बनाएर राख्न पाइँदैन । संघहरुले क्यालेण्डर ननिकालेको भए यथाशिघ्र बनाउनुस् । सार्वजनिक स्थानमा खेल हेर्दा सबै साथीहरु जिम्मेवार भएर हेरिदिनुस् ।’
फरक प्रसंगमा मन्त्री श्रेष्ठले टुँडिखेलमा आज नेपाल र नेदरल्याण्डबीचको आईसिसी टि २० विश्वकप खेल देखाइने भएकाले सबैले जिम्मेवार भएर खेल हेर्न आग्रह गरे ।
