झापा । सिकाइ उपलब्धि सुधारका लागि विषयगत शिक्षकहरुको प्रथम नगर स्तरीय भेला बिर्तामोडमा सम्पन्न भएको छ ।
बिर्तामोड नगरपालिकाको आयोजनामा देवी माध्यमिक विद्यालयमा आयोजित भेलामा विभिन्न विषयगत नगरसमिति गठनसंगै सिकाई उपलव्धि सुधारका लागि गरिएको प्रतिवद्दता पत्रमा हस्ताक्षर गरी समापन गरिएको हो ।
२१ बुँदै प्रतिवद्दता पत्रमा नगर प्रमुख पवित्रा महतारा प्रसाई, उप प्रमुख नगेन्द्र प्रसाद संग्रौला, शिक्षा शाखा प्रमुख उपसचिव तिलचन भण्डारी लगायत भेलामा सहभागी सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षकहरुले हस्ताक्षर गरेका छन् ।
भेलाले नेपाली, अंग्रेजी, विज्ञान, गणित र सामाजिक विषयको नगरस्तरिय ७ सदस्यीय सञ्जाल गठन गरेको हो । जसको संयोजकमा नेपाली विषयतर्फ साङ्गवेद संस्कृत माध्यमिक विद्यालयका शिक्षक झलक प्रसाद काफ्ले, अंग्रेजी विषयतर्फ दुर्गा माध्यमिक विद्यालयका शिक्षक लक्ष्मण शिवाकोटी, विज्ञान विषयतर्फ महेन्द्र रत्न माध्यमिक विद्यालयका शिक्षक लक्ष्मीप्रसाद प्रसाई, गणित विषयतर्फ देवि माध्यमिक विद्यालयका शिक्षककृष्ण प्रसाद पौडेल र सामाजिक विषयतर्फ ७ सदस्यीय समिति रहेको छ ।
भेलामा बोल्दै नगर प्रमुख पवित्रा महतारा प्रसाईले शिक्षण सिकाइ उपलब्धिमुलक बन्नुपर्नेमा जोड दिइन् । कक्षा १२ भन्दा माथिका विद्यार्थी पढाईको शिलशिलामा विदेश गइरहेको भन्दै शिक्षाको गुणस्तर सुधार गर्दै लैजानु पर्ने उनको भनाइ थियो । नगर प्रमुख प्रसाईले विद्यार्थीको मनोविज्ञानलाई बुझेर क्षिक्षकहरुले पठन पाठन गराउनु पर्ने धारणा राखिन् ।
यस्तै नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले भेलामा लिखितरुपमा भएका प्रतिवद्दता कार्यान्वयन गर्न शिक्षकहरुलाई आग्रह गरे । उनले स्थानीय सरकाले लिएको शिक्षा नीतिलाई अवलम्वन गरेर अघि बढ्नु पर्ने धारणा राखे ।
शिक्षा शाखा प्रमुख उपसचिव तिलचन भण्डारीले भेलामा आगामी दिनमा विद्यालयको भौतिक, शैच्छिक विषयमा सुधार गर्नु पर्ने विषयमा छलफल भएकोले उपलव्धीमुलक बनेको बताए । उनले शिक्षण सिकाई शिक्षक भन्दा विद्यार्थी केन्द्रित हुनु पर्ने धारणा व्यक्त गरे ।
