भद्रपुर । निर्माणाधीन अवस्थामा रहेको झापाको भद्रपुरस्थित मेची नदीको पुल शिलान्यास भएर निर्माणाधीन अवस्थामा रहे पनि निर्माणको काम सुस्ताएको भन्दै सर्वसाधारण तथा व्यवसायीले असन्तुष्टि व्यक्त गरेका छन् । निर्माण सुरु भएको सात बर्ष वित्दा पनि पुलको काम अलपत्र अवस्थामा रहेका कारण उनीहरुले त्यस्तो असन्तुष्टि जनाएका हुन् ।
झापा उद्योग बाणिज्य संघले सुस्त गतिमा बनिरहेको पुलको निर्माण कार्य चाँडो सम्पन्न गर्न सरकार तथा ठेकेदार कम्पनीलाई निर्माणको काम चाँडो सक्न आग्रह गरेको छ । संघका अध्यक्ष नवराज पनेरुले अहिलेसम्म पुल बनिनसक्नुमा सरकार र ठेकेदार कम्पनीको लाचारी भएको बताए । उनले भने, ‘यत्रो संरचना तयार भइसकेपछि पनि काम सक्न किन ढिलो भइरहेको छ अचम्म लाग्दो कुरा छ ।’ पुलका १० र ११ नम्बरका दुईवटा पिलर बाहेक सबै पिलर बनिसकेका छन् भने पिलरमाथि ढलान गर्ने काम पनि भइरहेको छ । पुलको पश्चिमपट्टि पिलरहरु बने पनि ढलान हुन बाँकी छ ।
झापा उद्योग संघका अध्यक्ष टिकाराज ढकालले उक्त पुल निर्माण सम्पन्न नभएकाले झापाका राजमार्ग दक्षिणका बासिन्दा पीडामा बस्न बाध्य भएको बताए । उक्त पुलले भारतको विहार र पश्चिम बंगालसंग जोडिने भएकाले निर्माण चाँडो सम्पन्न भए पूर्वी नेपालको व्यापार व्यवसायले राम्रो गति लिने यहाँका सर्वसाधारण तथा व्यवसायीको विश्वास छ । उक्त पुलको निर्माण अबका १५ दिनभित्र गति नलिए सशक्त आन्दोलन गर्न पछि नपर्ने व्यवसायीहरुले चेतावनी दिएका छन् ।
भद्रपुर नगरपालिका कार्यालयका अनुसार पिलर बनाउने ठाउँमा माटो परीक्षण गर्दा एक एकवटा पिलरका लागि माटो परीक्षण नगरिएकाले १० र ११ नम्बरका पिलर बनाउन समस्या आएको हो । सबै पिलर राम्रोसंग बने पनि १० र ११ नम्बर पिलर बनाउँदै जाँदा माटो मुनीको भाग लच्किएका कारण ती पिलर बनाउन नसकिएको हो । अब ती पिलरहरुमा बाहिरबाट अन्य दुईवटा पिलर बनाउनुपर्ने भएकाले करीब १५ लाख रुपैयाँ अरु खर्च लाग्ने भएकाले पुल निर्माणको काम प्रभावित भएको नगरपालिकाका कार्यकारी अधिकृत काजीमान राईले बताए ।
२०६६ सालमा त्यतिबेलाका भौतिक योजना तथा निर्माण मन्त्री विजयकुमार गच्छदारले शिलान्यास गरेपछि पुल निर्माण कार्य तीव्र गतिमा अघि बढेको थियो । उनले मेची पुल जसरी पनि बन्छ भन्ने उद्घोष सर्वसाधारण माझ गरेका थिए । तर उनले त्यो बाचा गरेको पनि यतिका बर्ष वितिसक्यो । तीन बर्ष भित्र निर्माणको काम सक्ने भनिए पनि पाँच बर्ष वित्दा पनि उक्त काम सम्पन्न हुन सकेको छैन । गच्छदारले शिलान्यास गर्नुभन्दा अघि पनि मेची पुलको दुई पटक शिलान्यास भइसकेको थियो । मेची पुल बन्छ भनेर सात दशक पर्खेर बसेका दक्षिण झापाबासीको अपेक्षा अहिलेसम्म पनि पूरा हुन सकेको छैन । विक्रम संवत २००९ सालदेखि उक्त पुल बन्छ भनेर स्थानीयबासी त्यसैको आशमा बसिरहेका छन् । तर अझै पनि सुस्त गतिमा निर्माण हुँदै गरेको मेची पुलका खम्बा हेर्दै एकदिन त बन्ला भन्ने झिनो आशा बाँकी रहेको स्थानीयबासीहरु बताउँछन् ।
उक्त पुल बनाउने भनेर २०२४ र २०४२ सालमा समेत शिलान्यास गरिएको थियो । २०२४ सालमा त्यतिबेलाका अञ्चलाधीश मनमोहन मिश्र र २०४२ सालमा त्यतिबेलाका प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले शिलान्यास गरेका थिए । त्यसपछि पनि पुल नबनेपछि नेपाल र भारतविचको सीमामा बग्ने मेची नदीमा स्थानीयबासीले बर्षेनी बाँसको पुल बनाएर हल्का सवारी साधन सञ्चालन गरे ।
बाँसेपुललाई बर्षेनी नदीमा आउने बाढीले बगाउने भएकाले बर्षेनीको लगानी पानीमा बगेकाले पछिल्लो समय तत्कालिन भौतिक याजना तथा निर्माण मन्त्री गच्छदारले ‘समयमा पुल नबने म राजनीति नै गर्दिन’ भन्दै शिलान्यास गरेका थिए । उक्त पुलमा १७ वटा खम्बा रहनेगरी ३ वर्षभित्रमा निर्माण कार्य सम्पन्न गर्ने जिम्मा अनक सूर्य एण्ड ज्वाइन्ट भेन्चर काठमाडौँले पाएको थियो । १० मिटर चौडाई र ५ सय ६० मिटर लम्बाइ रहने मेची पुलको कुल लागत ३७ करोड ३३ लाख रुपैयाँ रहेको छ ।