विराटनगर । कोशी प्रदेशका सामुदायिक विद्यालयहरूमा नयाँ शैक्षिक सत्र शुरु नहुँदै पाठ्यपुस्तक पुगेको छ ।
यसअघि शैक्षिक सत्र सकिँदासम्म किताव नपाउने बाध्यता व्यहोरेका विद्यार्थीरूले यसपटक समयमै पुस्तक पाउने भएका हुन् । विगतका वर्षमा शैक्षिकसत्र सकिने बेलासम्म पाठ्यपुस्तक नपाएपछि विद्यार्थीहरूले किताव नहेरी परीक्षा दिनुपर्ने बाध्यता थियो ।
तर यसपटक भने उनीहरूले समयमै किताव पाउने निश्चित भएको छ । स्रोत, साधन र जनशक्ति अभावको समस्यालाई सरकारले समाधान गरेपछि यसपटक विद्यालयहरूमा समयअगावै पुस्तक पुग्ने जनक शिक्षा सामग्री केन्द्र कोशी प्रदेश कार्यालयले जनाएको छ ।
नजिकिँदै गरेको २०८१ सालको शैक्षिक सत्रलाई मध्यनजर गर्दै केन्द्रले यस वर्ष चैत्र १३ गतेदेखि नै पाठ्यपुस्तकको बिक्री-वितरण थालेको हो । हालसम्म कोशी प्रदेशको १४ मध्ये १२ वटा जिल्लामा पुस्तक पुगिसकेको जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, कोशी प्रदेशकमा प्रमुख भूपराज थापाले बताए ।
उनले कोशी प्रदेशका पहाडी जिल्लाहरु खोटाङ र सोलुखुम्बुमा जनकपुर र काठमाडौंबाट जाने भएकाले बाँकी अन्य पहाडी जिल्लाहरुमा पाठ्यपुस्क पठाइसकिएको बताए ।
पहाडी जिल्लामा पठाइसकेकाले अब तराईका जिल्लामा पनि पठाउने काम भइरहेको बताउनु भयो । वैशाख १ गतेभित्र विद्यार्थीहरुले सहज रुपमा पाठ्यपुस्तक प्राप्त गर्ने बताउनु भयो । उनले अहिलेसम्म ४१ प्रतिशत पाठ्यपुस्तक बिक्री वितरण भइसकोको बताए ।
विशेषगरी कोशी प्रदेशको पहाडी जिल्लाहरूमा यसअघि शैक्षिक सत्र शुरु भएको महिना दिनपछि मात्र पाठ्यपुस्तक पुग्थ्यो । छपाइ कम हुँदा र समयमै छपाइ नहुँदा जनक शिक्षासँग पनि मागअनुसारको पर्याप्त पुस्तक आइपुग्दैन थियो ।
तर यसपाली नयाँ शैक्षिक सत्र आउनुभन्दा तीन साताअघि नै कोशी प्रदेशको पूर्वी तराई र विकट पहाडी जिल्लाहरूमा पाठ्यपुस्तक पुगिसकेको छ ।
हालसम्म कुल १६ लाख किताबमध्ये सात लाख ५० हजार पुस्तक बिक्री वितरण भइसकेको छ । चैत मसान्तसम्ममा प्रदेशका सबै सामुदायिक विद्यालयहरूमा मागबमोजिमको पाठ्यपुस्तक पुगिसक्ने केन्द्रको दाबी छ ।
विगतका वर्षहरूको तुलनामा यसपालि पाठ्पुस्तक पाउन निकै सहज भएको पुस्तक व्यावसायीहरू बताउँछन् ।