काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले एक घण्टाभित्रै श्रम स्वीकृति प्रदान गरिने बताएका छन् ।
आइतवार वैदेशिक रोजगार कार्यालयको पत्रकार सम्मेलनमा श्रममन्त्री अर्यालले अबदेखि सबै प्रकारका श्रम स्वीकृत एक घण्टाभित्रै स्वीकृत हुने बताएका हुन् ।
उनले वैदेशिक रोजगारीमा जाने श्रमिकले कार्यालय समयभित्र अनलाइनबाट कागजात पेश गरेको एक घण्टाभित्र श्रम स्वीकृति प्रदान गर्नसक्ने प्रणाली विकास भएको बताए ।
उनले अनलाइनबाट सही तरिकाले कागजात पेश गरेको २ मिनेट ४४ सेकेण्डमा स्वीकृत गर्नसक्ने अवस्था भएको तर प्रविधिका समस्या, प्रणाली, विद्युत र इन्टरनेटको उपलब्धतालाई ध्यानमा राखेर एक घण्टामा श्रम स्वीकृत लिनसक्ने सकिने अवस्था भएको बताए ।
उनले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुले सम्पूर्ण कागजहरु अनलाइनबाट कागजात पेश गरी प्रक्रिया पूरा गरे एक घण्टामा श्रमिकको मोबाइलमा नै श्रम स्वीकृती पाउनसक्ने बताए ।
श्रममन्त्री अर्यालले पछिल्ला दिनमा एउटा पनि श्रम स्वीकृति पेण्डिङमा नभएको दाबी गरे ।
उनले सेवा दिनको लागि सरकारले आवश्यक प्रविधि र सफ्टवयेरमा समेत सुधार गरिरहेको बताए । मन्त्री अर्यालले अहिले दुई सिफ्टमा काम भइरहेको भन्दै अब बिहान १० देखि ५ बजेसम्मका गर्ने वातावरण बनाउने बताए ।
