विर्तामोड । नेपाल र भारतका सीमा क्षेत्रका अधिकारीहरुले अबको छ महिनामा पूर्वका झापा, मोरङ र सुनसरी जिल्ला र भारतको विहार राज्यसंग जोडिएका सीमाका स्तम्भ निर्माणको काम सम्पन्न गरिसक्ने निर्णय गरेका छन् । विहीबार झापाको विर्तामोडमा सम्पन्न दुई देशका सीमा अधिकारीहरुले त्यस्तो निर्णय गरेका हुन् ।
सन् २०१४ देखि सुरु भएको नेपाली र भारतीय अधिकारीहरुको संयुक्त प्रयासमा नेपाल र भारतवीचका सीमा स्तम्भहरु मर्मत तथा नबनेका वा हराएका ठाउँमा नयाँ स्तम्भहरु बनेका छन् ।
देशभरका सीमा स्तम्भ बनाउने र मर्मत गर्ने काममा भारत र नेपालका अधिकारीहरु सम्मिलित जम्मा तीनवटा टोली परिचालित भएको नेपाली अधिकारीहरुले बताएका छन् ।
पूर्वको टोलीले विगत दुई बर्षमा मर्मत गर्नुपर्ने ७ सय ८४ सीमा स्तम्भमध्ये ६ सय १० वटा मर्मत गरिसकेको छ । हराएका वा नबनाएका ३ सय ८९ पिलरमध्ये ८३ वटा स्तम्भ बनाइसकिएको अधिकारीहरुले बताएका छन् । नापी विभागका प्रमुख नापी अधिकृत सुशील डंगोलका अनुसार विर्तामोडमा सम्पन्न दुई देशका अधिकारीहरुको बैठक आगामी २०१७ को मध्यसम्ममा पूर्वका सबै स्तम्भका काम गरिसक्ने निर्णय गरेको छ ।
देशभरमा कति स्तम्भ मर्मत गर्नुपर्ने र कति नयाँ बनाउनुपर्ने भन्ने आधिकारिक तथ्यांक आइनसकेको दुवै देशका अधिकारीहरुले बताएका छन् । उनीहरु भन्छन् जटिल समस्या भएका अन्य सीमा क्षेत्रका काम सुरु नै गरिएको छैन । जस्का कारण सबै सीमा स्तम्भलाई व्यवस्थित गर्न अझै केही बर्ष लाग्ने भारतीय नापी अधिकारी केबी खत्रीले बताए ।
बैठकमा झापा, मोरङ र सुनसरीका प्रमुख जिल्ला अधिकारीहरु, नापी विभागका अधिकारीहरु तथा भारतीय प्रहरी, सशस्त्र सीमा सुरक्षा बलका अधिकारीहरुको सहभागिता थियो ।