काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा वरिष्ठतम न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठलाई सर्वसम्मतिले अनुमोदन गरेको छ ।
आज सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले सुनुवाइ प्रक्रिया टुंग्याएपछि उनलाई प्रधानन्यायाधीशमा नियुक्तिका लागि सर्वसम्मत अनुमोदन गरेको समितिको सभापतित्व गरेका पशुपति शमशेर राणाले बताए ।
उनले भने, ‘नेपालको संविधानको धारा २९२ को उपधारा १ बमोजिम संसदीय सुनुवाइको लागि लेखिआएकोमा संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति नियमावली २०८० तथा संसदीय सुनुवाइ समितिको कार्यविधि २०८० बमोजिम सुनुवाइ गर्दा प्रस्तावित व्यक्तिको योग्यता, क्षमता र अनुभव सहितको आधारमा संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति, नियमावली २०८०को नियम २६ को उपनियम ५ बमोजिम प्रस्तावित व्यक्तिलाई नेपालको प्रधानन्यायाधीशको पदमा नियुक्तिको लागि सर्वसम्मतिले अनुमोदन गरियो ।’
संसदीय समितिले अनुमोदन गरेका व्यक्तिलाई राष्ट्रपतिले प्रधानन्यायाधीश पदमा नियुक्ति दिने व्यवस्था अनुसार उनलाई प्रधानन्यायाधीशमा राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गर्ने छन् ।
श्रेष्ठले कानूनमा स्नातक र राजनीतिशासत्रमा स्नातकोत्तर गरेका छन् ।
२०३८ सालमा शाखा अधिकृतबाट काम सुरु गरेका उनी २०४५ साल जेठमा दार्चुला जिल्लाबाट न्यायाधीश पदबाट न्यायीक सेवा सुरु गरेका थिए ।
त्यसको ६ वर्षमै जिल्ला न्यायाधीश भएका उनी ०६२ मा तत्कालीन पुनरावेदन अदालत बाग्लुङको न्यायाधीश भए । ०७० मा पुनरावेदन अदालत पोखराको कायममुकाम मुख्य न्यायाधीश भएका उनले ०७१ सालमा पुनरावेदन अदालत हेटौंडाको मुख्य न्यायाधीश भए ।
त्यसको करिब दुई वर्षपछि ०७३ साउन १७ मा जिल्ला अदालत हुँदै सर्वोच्च अदालतमा नियुक्त भएका हुन् ।
उनले अहिलेसम्मको न्यायिक सेवा अवधिमा १८ हजार ६ सय ८२ थान मुद्दाको न्यायिक निरुपण गरेको संसदीय समितिमा बताएका छन् ।
श्रेष्ठले ०८१ असोज २० मा ६५ वर्षे उमेरहदका कारण अवकाश पाउने छन् ।
