काठमाण्डौं, ७ पुस । नेत्र बिक्रम चन्द नेतृत्वको नेकपा माओवादीले अाज उपत्यका बन्दको आह्वान गरेको छ । चन्द माओवादीले मंगलबार विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थमा भएको मुल्य वृद्धि खारेजको माग गर्दै उपत्यका बन्द गरेको हो ।
विज्ञप्तिमा अन्र्तराष्ट्रिय बजारमा भएको मूल्य वृद्धिको कारण भनिए पनि विगतमा लिइएको चर्को मूल्यको तुलनामा नेपालमा अझै पेट्रोलियम पदार्थको मुल्य घटाउनु पर्ने उल्लेख गरिएको छ ।
एकैचोटी भारी मात्रामा मूल्य वृद्धि गर्नुपर्ने कुनै कारण नभएको भन्दै यसरी मूल्य वृद्धि गरिनु आयल निगमले गर्दै आएको अनियमितता, राज्य संञ्चालकहरुले गर्दै आएको भ्रष्टाचार र कालोबजारीलाई टेवा पुगेको भन्दै आन्दोलन गर्न बाध्य भएको विज्ञप्तीमा जनाइएको छ ।
बन्द प्रभाव न्यून
नेत्र बिक्रम चन्द नेतृत्वको नेकपा माओवादीले आह्वान गरेको बन्दको प्रभाव उपत्यकामा न्यून देखिएको छ । निजी सवारी साधन चलेका छन् । सार्वजनिक सवारी साधन भने केही कम चलेका छन् ।
बन्द लाई मध्यनजर गर्दै बिहानैदेखि काठमाडौं उपत्यकाका मुख्य चोक चोकमा प्रहरी खटिएर सुरक्षा व्यवस्था कडा बनाएका छन् ।
पार्टीले हिजोपनि मुल्य वृद्धि खारेजको माग गर्दै बिहान ९ बजेदेखि १० बजेसम्म उपत्यकाका विभिन्न ठाँउमा चक्कजाम गरेको थियो ।