काठमाडौं । नेपाल आयल निगमले आफैंले बनाएको कार्यविधि विपरीत इन्धनको मूल्य बढाएको छ। निगमले तयार पारेको ‘स्वचालित मूल्य प्रणालीसम्बन्धी कार्यविधि २०७१’ अनुसार प्रतिलिटर २ प्रतिशतभन्दा मूल्य घटबढ गर्न पाइँदैन। यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ।
![]()
जसअनुसार प्रतिलिटर पेट्रोलमा १ रुपैयाँ ९४ पैसा र डिजेल र मट्टितेल प्रतिलिटर १ रुपैयाँ ४६ पैसाभन्दा बढाउन पाइँदैन। तर, दुवैमा निगमले कार्यविधि विपरीत प्रतिलिटर साढे ४ रुपैयाँ बढाएको छ।
‘कार्यविधिअनुसार प्रतिलिटर २ प्रतिशत मात्रै घटाउन÷बढाउन पाइन्छ। हाल प्रतिलिटर साढे ४ रुपैयाँ बढाइएको छ,’ निगम सञ्चालक समितिका एक सदस्यले भने, ‘कार्यविधिअनुसार समायोजन मिलेन।’
उनका अनुसार निगमले पेट्रोलमा १२ प्रतिशत र डिजेलमा १ प्रतिशतसम्म नाफा राख्न मिल्छ। तर, मूल्य समायोजनमा भने २ प्रतिशतभन्दा घटबढ गर्न मिल्दैन।
व्यवस्थापिका संसदले पनि प्रतिलिटर २ प्रतिशतभन्दा बढी घटबढ गर्न नहुने जनाएको छ। ‘निगम आफैंले बनाएको कार्यविधिमा प्रतिलिटर २ प्रतिशतभन्दा बढी घटबढ गर्न नमिल्ने उल्लेख छ। तर, प्रतिलिटर साढे ४ रुपैयाँ बढाएको छ,’ उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिका सचिव सुदर्शन खडकाले भने, ‘यो जायज होइन। मूल्यवृद्धि कार्यविधि विपरीत भयो। यसबारे निगमसँग बिहीबार छलफल गर्नेछौं।’
निगमले गत आइतबार राति १२ बजेदेखि लागू हुनेगरी मूल्य बढाएको थियो। नयाँ मूल्य लागू भएपछि प्रतिलिटर पेट्रोल १ सय १ रुपैयाँ ५० पैसा, डिजेल ७७ रुपैयाँ ५० पैसा र मटितेल ७७ रुपैया ५० पैसा पर्छ।
यसअघि प्रतिलिटर पेट्रोलको मूल्य ९७ रुपैयाँ, डिजेल ७३ रुपैयाँ र मटितेल ७३ रुपैयाँ थियो। भारतीय आयल निगम (आईओसी) ले पठाएको नयाँ मूल्यसूचीअनुसार मूल्य बढेकाले सोहीअनुसार यहाँ मूल्य बढाएको दाबी गरेको थियो।
तर, निगमले मूल्य घटेको बेला प्रतिलिटर साढे २ रुपैयाँबाहेक घटाउने गरेको छैन। जानकारहरूका अनुसार इन्धनको मूल्य वृद्धिसँगै सबै क्षेत्रमा भाउ बढ्छ। हाल निगम नाफामा रहेकाले सर्वसाधारणलाई मार पर्ने काम उपभोक्ता अधिकारकर्मी बताउँछन्।