काठमाडौं । जिल्ला अदालत काठमाडौंले ललिता निवास प्रकरणका आरोपितलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन अनुमति दिएको छ ।
आइतबार न्यायाधीश दयाराम ढकालको इजलासले मीनबहादुर गुरुङसहित १७ जनालाई सरकारी कागजात किर्तेको उजुरीमाथिको अनुसन्धानका लागि थुनामा राख्न अनुमति दिएको हो।
प्रहरीले यो प्रकरणका अभियुक्ताहरुलाई सुरुमा ७ दिन, त्यसपछि थप ७ दिन, तेस्रो पटक ५ दिन र चौथो पटक ५ दिन म्याद थपेको छ।
यसअघि गत असार १२ गते भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित ७ जना एकैपटक पक्राउ परेका थिए।
गुरुङसहित धर्मप्रसाद गौतम, सुधीरकुमार शाह र गोपाल कार्कीलाई प्रहरीले पक्राउ गरेको थियो।
सीआईबीले पक्राउ गरेका अन्य तीन जनालाई भने त्यही दिन छाडेको थियो। उनीहरूलाई सर्वोच्चबाट पक्राउ नगर्न आदेश जारी भएको थियो।
यो प्रकरणमा पछिल्लो पटक गत बुधबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले समरजंग कम्पनीका तत्कालीन सहलेखापाल विनोद पौडेललाई पक्राउ गरेको छ ।
