काठमाडौं । मधेस आन्दोलनसम्बन्धि छानविन आयोगमा हालसम्म एक मात्र उजुरी परेको छ ।
मंसिर १६ गतेबाट उजुरी दिन आह्वान गरिएपनि उजुरी दिने अवधि सकिन दश दिन मात्र बाँकी रहँदासम्म पनि एक मात्र उजुरी परेको आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।
गत वर्ष साउनदेखि मधेस र थरुहट लगायतका क्षेत्रमा विभिन्न राजनीतिक दलहरुले गरेको आन्दोलनको क्रममा भएका हिंसा हत्या, आगजनी, तोडफोडलगायतका घटनाहरुको सत्यतथ्य छानविन गरी प्रतिवेदन पेश गर्न सरकारले सर्वोच्च अदालतका पूर्वन्यायाधीस गिरिशचन्द्र लालको अध्यक्षतामा आयोग गठन गरेको थियो । आयोग गठन भएको तीन महिना पछि आयोगले काम थालेको हो ।
आयोगमा परेको एक मात्र उजुरी आन्दोलनकारीले मिनी ट्रक जलाएकोसम्बन्धि रहेको छ । घटनामा २३ लाख ९४ हजार क्षति भएको दाबी गरिएको छ ।
लालका अनुसार उजुरी दर्ता गर्न राजनीतिक दलहरुलाई आग्रह गरिए पनि राजनीतिक दलहरुले उजुरी दर्तामा सहयोग तथा अग्रसरता देखाएका छैनन् ।