काठमाडौं । जिम्बावेमा जारी रहेको आइसीसी विश्वकप छनोट अन्तर्गत सातौं स्थानका लागि जारी प्रतिश्पर्धामा नेपालले आयरल्यान्ड समक्ष २ सय ६९ रनको चुनौती प्रस्तुत गरेको छ ।
हरारेमा रहेको टाकासिंगा स्पोर्टस् क्लबमा आयल्यान्डले टस जितर बलिङको निणर्य लिए पछि पहिले ब्याटिङको निम्तो पाएको नेपालले, निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २६८ रन जोडेको हो ।
नेपालका लागि गुल्सन झा र सन्दीप लामिछानेले आठौँ विकेटका लागि ८० रनको साझेदारी गरे । ७ रनमा अन्तिम ३ विकेट गुमाएर १६९-७ को अवस्थामा पुगेपछि ब्याटिङका लागि पुगेका सन्दीप र गुल्सनले ८० रनको साझेदारी गरेका हुन् ।
गुल्सनले अविजित ५७ रन जोड्दा, सन्दीपले ३२ रनको योगदान गरे ।
गुल्सनले ४२ बलमा ३ छक्का र ४ चौकाको मद्दतमा अर्धशतक प्रहार गरे । उनले २२ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलमा तेस्रो अर्धशतक बनाएका हुन् । यस्तै सन्दीपले ३० बलमा एक छक्का र ३ चौका हिर्काए । ३८ बल खेलेका कुशल मल्लले २ छक्का र ५ चौका प्रहार गरेका थिए।
नेपालका अर्जुन साउदले ४८, कुशल मल्लले ४४, रोहित पौडेलले २९ र भीम सार्कीले २० रन बनाए। कुशल भुर्तेलले ८, ज्ञानेन्द्र मल्लले ७ रन बनाए भने दीपेन्द्रसिंह ऐरीले खाता खोल्न सकेनन्।
आयरल्यान्डका लागि बेरी म्याकार्थि र क्रिग योङले समान दुई तथा एन्डी म्याकब्राइन, गारेथ डेल्नी, कुर्टिस च्याम्फरले समान एक विकेट लिए ।
नेपालले आयरल्यान्डसँग ओडिआई खेल खेल्न लागेको यो पहिलो अवसर हो । आयरल्यान्ड नेपालले ओडिआई खेल्ने तेस्रो टेस्ट मान्यता प्राप्त मुलुक हो ।
नेपालले सातौं स्थानको लागि भएको दोस्रो सेमिफाइनल खेलमा आईतबार युएईलाई हराउँदै आयरल्यान्डसँग भेट पक्का गरेको थियो ।
पहिलो ओडिआई भेटमा नै आयरल्यान्डलाई पराजित गर्ने लक्ष्यमा नेपाल रहेको छ ।
