काठमाडौं । युवा संघ रूपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्यामा युवा संघकै पूर्वनेता मनोज पुनको संलग्नता रहेको निष्कर्षमा प्रहरी पुगेको छ। मनोज रूपन्देही क्षेत्र नम्बर १ का पूर्वकोषाध्यक्ष हुन्। व्यक्तिगत रिसइबीकै कारण तिवारीको हत्या भएको प्रहरीको दाबी छ। यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ।
![]()
रूपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र धानुक तिवारी हत्याकाण्डलाई नितान्त आपराधिक घटनाका रूपमा विश्लेषण गर्छन्। ‘विगतको पृष्ठभूमि र पहिले पनि तिवारीमाथि भएको आक्रमणले मनोजकै संलग्नतामा तिवारीको हत्या भएको प्रहरीको निष्कर्ष छ,’ प्रहरी उपरीक्षक धानुकले भने। पार्टीबाट हटाएको, पैसा नदिएको तथा आफ्ना व्यक्तिहरूलाई जेल हालेको रिसइबीमा पुनले उनको हत्या गरेको प्रहरी दाबी छ।
गत ६ चैतमा तिवारीलाई दुई वटा गोली प्रहार भए पनि उनी बच्न सफल भएका थिए। एसपी धानुकका अनुसार मनोजविरुद्ध प्रहरीमा दुई वटा ज्यान मार्ने उद्योगलगायतका उजुरी परेका छन्। ‘मनोज फरार अभियुक्त हो,’ उनले भने।
तिवारीको हत्यामा संलग्न आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरी अनुसन्धान थालेको छ। मनोजनिकट तीनजनालाई पक्राउ गरिएको स्रोत बताउँछ। यद्यपि हत्यामा उनीहरूको संलग्नता प्रस्ट भइसकेको छैन।
हत्याको अनुसन्धानका लागि प्रहरीले केन्द्र तहबाट पनि आवश्यक समन्वय तथा सहयोगको काम गरिरहेको रूपन्देही प्रहरी प्रमुख धानुकले बताए। तिवारीको हत्यापछि घटनाको मनोजले जिम्मेवारी लिएका थिए। उनको तस्बिर मनोजकै फेसबुकबाट डाउनलोड गरी प्रहरीले सञ्चारकर्मीलाई उपलब्ध गराएको छ।
रूपन्देही देवदह नगरपालिका–८ स्थित खैरेनी चोकदेखि सय मिटर दक्षिणतर्फ बाटोमा सोमबार अपराह्न गोली प्रहारबाट घाइते भएका तिवारीको उपचारका क्रममा मृत्यु भएको हो।
तिवारी हत्याको विरोधमा युवा संघले आह्वान गरेको लुम्बिनी अञ्चल बन्दले बुटवल, भैरहवासहित यस क्षेत्रको जनजीवन प्रभावित बनेको छ। बन्दको प्रभाव पहाडी जिल्लामा परेको छ। मंगलबार बिहानैदेखि युवा संघ, अनेरास्ववियुसहित एमालेका नेता–कार्यकर्ता सडकमा उत्रिएर विरोध प्रदर्शन गरेका थिए।