काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले मानवअधिकार उलंघनका घटनालाई लिएर गरिएका सिफारिस कार्यान्वयनको अवस्थाप्रति असन्तुष्टि जनाएको छ ।
आयोगको २४ औं स्थापना दिवसको अवसरमा, अध्यक्ष तप बहादुर मगरले, राष्ट्रिय मानवअधिकार आयोगका सिफारिसको कार्यान्यनको विषय निकै पेचिलो बन्दै गएको भन्दै त्यसको कार्यान्वयनका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।
शुभकामना भिडियो जारी गर्दै मगरले भने,‘संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्याउने र राष्ट्रिय मानवअधिकार आयोगका सिफारिसहरुको कार्यान्यनको विषय पनि निकै पेचिलो छ । अन्तराष्ट्रिय मञ्चमा गरेको प्रतिवद्धतालाई कार्यान्वयन गर्नुपर्ने दायित्व राज्यसंग छ ।’ उनले थपे, ‘आयोगलाई मानवअधिकारको सच्चा पहरेदारको रुपमा उभ्याउन आयोगको थप क्षमता अभिवृद्धि गर्नुपर्ने आवश्यकता पनि छ,यसतर्फ म नेपाल सरकारको ध्यानआकृष्ट गराउन चाहान्छु ।’
मानवअधिकारको रक्षाका लागि सरकारले अन्तराष्ट्रिय मञ्चमा गरेको प्रतिवद्धतालाई कार्यान्वयन गर्न आवश्यक भएको उनको भनाइ छ ।
देशमा मनव अधिकारको रक्षाका लागि आयोगको स्थापना निकै महत्वपूर्ण खुड्किलो सावित भएको बताएका मगरले देशमा मानव अधिकार संस्कृति विकासको लागि आयोगको प्रयास मात्र प्रयाप्त नहुने कुरालाई मनन् गर्दै तीनै तहका सरकार र सरोकारवाला निकाय सबैको साथ आवश्यक रहेको बताएका छन् ।
