काठमाडौं । महिनावारी हुँदा छाउगोठमा सुतेकै अवस्थामा किशोरीको निस्सासिएर मृत्यु भएको एक महिना पुग्न नपाउँदै अछाममा अर्की किशोरीको छाउपडी गोठमै निसास्सिएर मृत्यु भएको छ।
महिला तथा बालबालिका कार्यालयले सेभ द चिल्ड्रेनको सहयोगमा सञ्चालन गरेको छाउपडी निवारण परियोजना अन्तर्गत एक वर्षअघि छाउपडी गोठ मुक्त गाउँ घोषणा गरिएको गाज्राकै ७ नम्बर वडाकी १५ वर्षीया रोशनी तिरुवाको छाउगोठमै मृत्यु भएको हो ।
महिनावारी हुँदा गोठमा एक्लै सुतेकी रोशनी आइतबार बिहान मृत अवस्थामा भेटिएको परिवारले जानकारी दिएको छ।
अघिल्लो दिन बेलुकी ६ बजेतिर खाना खाएर छाउगोठमा सुतेकी रोशनी बिहान अबेरसम्म नउठेपछि बोलाउन जाँदा मृत अवस्थामा भेटिएकी थिइन् । छाउगोठमा बेलुकी आगो तापेर सुतेकी उनको निस्सासिएर मृत्यु भएको प्रहरीको भनाई छ ।
शनिबार स्कुल विदा भएकाले रोशनीले दिनभर जंगल गएर एक भारी दाउरा ल्याएकी थिइन्। उनी स्थानीय राष्ट्रभाषा माध्यमिक विद्यालयमा ९ कक्षामा अध्ययन गर्थिन् ।
पछिल्लो एक दशकमा अछाममा १० जना महिला तथा किशारीले छाउपडी गोठमा बस्दा ज्यान गुमाइसकेका छन् ।