काठमाडौं । सातदोबाटो युथ क्लबलाई पराजित गर्दै जावलाखेल युथ क्लब सहिद स्मारक ए डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।
मंगलबार एन्फा कम्प्लेक्स सातदोवाटोमा भएको खेलमा सातदोबाटो युथ क्लबलाई २-१ गोल अन्तरले हराउँदै जावलाखेल शीर्ष स्थान उक्लिएको हो । जावलाखेलको जितमा फोडे फोफाना र एनकोटो मोसाबीले एक एक गोल गरे ।
सातदोबाटोका दीपक सिंह ठकुरीले एक गोल फर्काए । खेलको ४३ औं मिनेटमा फोफानाले पेनाल्टीमार्फत गोल गर्दै जावलाखेललाई अग्रता दिलाएका थिए ।
५० औं मिनेटमा मोसाबीले गोल गर्दा जावलाखेल २-० ले अघि रह्यो । त्यसपछि खेलको ७५ औं मिनेटमा जावलाखेलका दीपकले एक गोल फर्काएपनि जावलाखेल २-१ ले विजयी भयो ।
जितसँगै जावलाखेलले ६ खेलमा १३ अंक जोडेको छ । सातदोबाटो ६ खेलमा १२ अंक जाडेको छ ।
त्यस्तै मंगलबार नै भएको अर्को खेलमा न्युरोड टिम एनआरटी र चर्च ब्वाइज युनाईटेडले बराबरी खेल्दै अंक बाडेका छन् । च्यासल मैदानमा मंगलबार एनआरटी र चर्च ब्वाइजले २-२ गोलको बराबरी खेलेका हुन् ।
खेलको २० औं मिनेटमा आशिष चौधरीले गोल गर्दै चर्च ब्वाइजले सुरुआती अग्रता लिएको थियो । ६२ औं मिनेटमा कप्तान अनन्त तामाङले गोल गर्दै चर्च ब्वाइजलाई २-० को अग्रता दिलाए ।
तर, खेलको ७१ औं मिनेटमा रोशन खड्कीले गोल गर्दै एनआरटीलाई २-१ को स्थितिमा ल्याए । त्यसपछि खेलको इन्जुरी समयमा सरोज तामाङले गोल गर्दै एनआरटीलाई २-२ गोलको बराबरीमा ल्याएका थिए ।
यस बराबरीसँगै एनआरटीले ६ खेलमा ३ अंक जोडेको छ । चर्च ब्वाइजले ६ खेलमा १२ अंक जोडेको छ ।
