काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्स कप फुटबलको उपाधि नेपालले जितेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार साँझ भएको फाइनल खेलमा लाओसलाई २–१ गोल अन्तरले पराजित गर्दै नेपालले उपाधि उचालेको हो । उपाधिसँगै नेपालले ५ हजार अमेरिकी डलर प्राप्त गरेको छ भने लाओसले ३ हजार डलर प्राप्त गरेको छ ।
लोओसले बनाएको एक गोलको अग्रता उल्टाएर नेपाल च्याम्पियन बनेको हो । नेपालको जितमा आयुष घलान र मनिष डाँगीले एक एक गोल गरे । लाओसका फोउचाङभोङ साङ्भिले एक गोल गरे ।
खेलको १७औं मिनेटमा फोउचाङभोङले गोल गर्दै लाओसलाई सुरुवाती अग्रता दिलाएका थिए । तर खेलको २४ औं मिनेटमा आयुषले गोल गर्दै नेपाललाई १–१ गोलको बराबरीमा ल्याए । एरिक विष्टले उपलब्ध गराएको पासमा आयुषले सुन्दर गोल गरे । त्यसपछि खेलको ८७ औं मिनेटमा अन्जन विष्टले उपलब्ध गराएको पासमा उत्कृष्ट गोल गर्दै मनिषले नेपाललाई २–१ को जित दिलाए ।
